गृहपृष्ठ Featured ‘जंक फुड’ रहित नगर बनाउने अभियानमा बाणगंगा

‘जंक फुड’ रहित नगर बनाउने अभियानमा बाणगंगा

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका पत्रु खाना ‘जंक फुड’ रहित नगर बनाउने अभियानमा लागेको छ । सोही अनुरुप सोमबार नगरले पत्रु खाना नियन्त्रणका लागि नगरस्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसंग अन्तरक्रिया गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

उहाँले विद्यालयहरुलाई जंक फुड रहित बनाउने कार्यक्रम यसरी अभियानका रुपमा संचालन गर्ने बाणगंगा नगरपालिका देशकै पहिलो पालिका भएको दाबी गर्नुभयो ।

‘जंक फुड’ ले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष असर गर्दै स्वास्थ्यमा नकारात्मक प्रभावका पार्ने भएकाले नगरले यस्तो कार्यक्रम प्रभावकारी रुपमा संचालन गरेको उहाँको भनाई छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई पोषणमैत्री नगर घोषणा गर्ने अभियानमा आफुहरु रहेको भन्दै उहाँले त्यसका लागि सुरुमा पत्रु खानारहित नगर निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले विद्यालयहरुमा पत्रु खाना ‘जंक फुड’ निषेध गरेर सुरक्षित बालबालिकाको निर्माण गर्न नगरले चाहेको बताउनुभयो । सामाजिक विकासको क्षेत्रमा नगरले गत आर्थिक बर्षदेखि लगानी बढाएको बताउँदै नगर प्रमुख अर्यालले यसको प्रतिफल १५/२० बर्षपछि देखिने बताउनुभयो । उहाँले ‘एक घर एक धारा’ अभियान अन्तर्गत नगरपालिकाले एक सय भन्दा बढी घरमा निशुल्क धारा जडान गरिदिएको बताउनुभयो । नगरको लगानीमा वडा नं.३ मा ३४ वटा शौचालयहरु निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

 

नगरवासीलाई पूर्ण सुरक्षितयुक्त खानेपानीको पहुँचमा पुर्याउने नगरको लक्ष्य रहेको भन्दै उहाँले हाल करिब १४ हजार घरधुरीमा खानेपानीको धारा पुगेको जानकारी दिनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास मान्न नसकिने भन्दै बाणगंगाको अबको लगानी सामाजिक विकासमा केन्द्रित हुने बताउनुभयो । उहाँले अनुगमनका क्रममा विधार्थीहरुले पत्रु खाना खाने गरेको भेटिएको बताउँदै विद्यालयका शैचालयहरुमा सुर्तीजन्य पदार्थहरु फेला परेको बताउनुभयो ।

उहाँले विद्यालयबाट १ सय मिटरसम्म रहेका पसलहरुमा पत्रु खाना र सुर्तीजन्य पदार्थ विक्रिवितरण गर्न निषेध गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले सुचना नै जारी गरेर अनुगमनलाई तीब्र बनाउने उहाँको भनाई छ । विद्यालय पोसाकका विधार्थीहरुलाई जंक फुट र सुर्तीजन्य पदार्थ विक्रि नगर्न उहाँले पसलहरुलाई आग्रह समेत गर्नुभयो ।

अहिलेका विकसित मुलकहरुले विगत ५०/६० बर्षदेखि बालबालिकामा लगानी गरेकै कारण अहिलेको अवस्थामा आईपुगेको भन्दै उहाँले भन्नुभयो, ‘बाणगंगाका बालबालिकामाथि अब नगरले क्रमश लगानी बढाउँदै जाने छ । यसको उपलब्धि अहिले नै देखिदैन् । केही दशकपछि अवश्य देखिने छ ।’

सामाजिक विकास समितिका संयोजक विष्णु गिरीले बाणगंगालाई पत्रु खानारहित नगर बनाउने अभियानलाई सफल बनाउन विद्यालयका प्रअ र शिक्षकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा प्रार्थना समयमा पत्रु खाना खादाँका बेफाईदा र नखादाँका फाईदा, यस नियन्त्रणमा नगरको रणनितिका बारेमा विशेष कार्यक्रम गर्दा प्रभावकारी हुने बताउनुभयो ।

भक्तिराम पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बाणगंगाका विद्यालयमा जंक फुड प्रयोगको अवस्था, यसको नियन्त्रणको उपाय, आगामी रणनिति लगायतकाबारेमा प्रस्तुतिकरण राखेका थिए ।

सम्बन्धित् समाचार