सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालले पछिल्लो समय उल्लेखनीय सेवा सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ । सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपस्थितिले गर्दा सर्वसाधारणको आकर्षण अस्पतालप्रति बढ्दो छ ।
अस्पताल प्रशासनका अनुसार पछिल्लो एक वर्षको अवधिमा सेवा प्रवाह, संरचना तथा व्यवस्थापनमा उल्लेखनीय फड्को मारिएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सरस्वती भट्टराईका अनुसार आफूले अस्पतालमा सेवा शुरु गरेको एक वर्ष नपुग्दै अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी सेवा लिन आउन थालेका छन् ।
“अहिले २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे, फार्मेसी लगायतका सेवा नियमित रूपमा सञ्चालनमा छन्,” डा. भट्टराईले जानकारी दिँदै भन्नुभयो, “स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा प्रदान गर्न हामी पूर्णरूपमा प्रतिबद्ध छौँ ।”
यता अस्पतालमा कार्यरत जनरल सर्जन डा. सन्जोक शिवाकोटीका अनुसार अस्पतालमा हर्निया, हाईड्रोसिल, एपेन्डीस, पत्थरी, पायल्स, फिस्टुला जस्ता सर्जिकल सेवा सहज रूपमा उपलब्ध छन् । उहाँले नेपाल सरकारअन्तर्गत सञ्चालित स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अस्पतालबाट निःशुल्क उपचार सेवा प्राप्त गरिरहेको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले पिपरा अस्पताललाई गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गर्न नगरपालिका निरन्तर लागि परेको बताउनुभयो । “जनताको विश्वास जित्नु नै अस्पतालको प्रमुख उपलब्धि हो,” उहाँले भन्नुभयो, “अस्पताललाई अझ व्यवस्थित र सुसज्जित बनाउन थप योजना पनि अघि बढिरहेका छन् ।”
अस्पतालका प्रशासन शाखा प्रमुख राजु सुनारीका अनुसार पछिल्लो आठ महिनामा मात्र १८ हजार १५६ जनाले अस्पतालबाट सेवा लिइसकेका छन् । उहाँले आगामी दिनमा आन्तरिक संरचनागत सुधार, कर्मचारी व्यवस्थापन र उपकरण अभावको समाधानका लागि निरन्तर पहल गरिरहने बताउनुभयो ।
सेवा लिन आउने बिरामीहरूले अस्पतालको व्यवस्थापन, सेवा र पहुँचमा भएको सुधारले सन्तुष्टि मिलेको प्रतिक्रिया दिएका छन् । “पहिला सामान्य उपचारका लागि बुटवल, भैरहवा, काठमाडौं धाउनुपर्ने जानुपर्ने बाध्यता थियो, अहिले पिपरा अस्पतालमै आवश्यक सेवा सहज रूपमा पाउने अवस्था आएको छ,” एक सेवाग्राहीले भने ।
यस क्षेत्रका सरोकारवालाहरुले पिपरा अस्पतालको यस्तो प्रगतिशील रूपान्तरणले बाणगंगा नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रमा नयाँ आशा र विश्वासको वातावरण सिर्जना गरेको बताएका छन् ।








