गृहपृष्ठ Featured नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’ चार सय

नेपालमा बाघको संख्या ‘धान्ने क्षमता’ चार सय

पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ। सन् २०१० मा रूसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउन थालिएको हो।

उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो। नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ। सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ।

नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैंसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ।

बाघको संख्याको ‘धान्ने क्षमता’ चार सय

वर्तमान अवस्थामा नेपालमा बाघको संख्याको आवश्यकताका बारेमा बहस सुरू भएको छ। कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको संख्याको धान्ने क्षमता (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन्।

नेपालमा बाघको संख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन्।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको संख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिए।

सम्बन्धित् समाचार