वैखरी अनलाइन, रूपन्देही ।
रूपन्देही जिल्लाको रोहिणी गाउँपालिकामा दीर्घकालीन खानेपानी समस्याको समाधानतर्फ ठोस पहल सुरु भएको छ। गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको सक्रिय पहलमा खानेपानी सेवा सुधारको प्रयास तीव्र पारिएको हो।
आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले ओभरहेड टंकी निर्माण र पाइपलाइन विस्तारको कार्यका लागि रु १ करोड बजेट विनियोजन गरिसकेको छ। यसबाट गाउँका अधिकांश बासिन्दालाई स्थायी र सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको अध्यक्ष यादवले बताएका छन्।
तर, पाइपलाइन विस्तार कार्यका लागि थप बजेटको आवश्यकता देखिएपछि अध्यक्ष यादव पुनः संघीय खानेपानी मन्त्रालयमा पुगेका थिए। अध्यक्ष यादवको मागलाई गम्भीर रूपमा लिँदै खानेपानी मन्त्री प्रदीप यादवले आवश्यक बजेट व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यसरी बजेटको सुनिश्चिततासँगै अबको केही महिनामा खानेपानी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने जनाइएको छ। स्थायी समाधानतर्फको यो प्रयासले स्थानीय बासिन्दामा आशा जागेको छ।








