वैखरी अनलाईन, बाणगंगा ।
अन्तर्राष्ट्रिय रेन्जर दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित पिपरा जनता माध्यमिक विद्यालयमा वृक्षारोपण तथा “वन तथा वातावरण संरक्षणमा विद्यार्थीको भूमिका” विषयक बक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवप्रसाद कलवारले वृक्षारोपण गरी गर्नुभयो। मन्त्री कलवारले भन्नुभयो, “वन संरक्षण र समृद्धिको आधार हो । विद्यार्थीमा बचपनदेखि नै वातावरणप्रतिको चेतना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्।”

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले वातावरणीय संकटको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो । “प्राविधिक, जनप्रतिनिधि र समुदायको साझेदारीमै मात्र वातावरण संरक्षणको दीर्घकालीन समाधान खोज्न सकिन्छ,” उहाँले भन्नुभयो ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले विद्यालयस्तरमै वृक्षारोपण र वातावरण सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रम हुनु सकारात्मक भएको बताउनुभयो ।
“बच्चाहरूमा वातावरणप्रति उत्तरदायी बनाउने पहल यिनै बाल्यकालका अभ्यासबाट सुरु हुन्छ। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपाल फरेष्ट टेक्निसियन एशोसिएसनका राष्ट्रिय अध्यक्ष गोबिन्द पाण्डेले रेन्जर दिवसमा विद्यालयमा वृक्षारोपण गर्नुको महत्व औँल्याउँदै भन्नुभयो, “वन क्षेत्रका कर्मी मात्र नभई सर्वसाधारणमा चेतना फैलाउन यस्तो खालको संयुक्त सहभागितायुक्त कार्यक्रम अत्यन्त प्रेरणादायी हुन्छ।”
वन प्राविधिक संघका केन्द्रीय सल्लाहकार दामोदर शर्माले वातावरण संरक्षणमा प्रविधिको प्रयोग र शिक्षाको समायोजन आवश्यक रहेको बताउनुभयो ।
सव डिभिजन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “विद्यार्थीलाई सरोकारवाला बनाएर गरिएको यस्तो कार्यक्रमले उनीहरूमा वातावरणप्रति जिम्मेवारी बोध गराउँछ।”
कार्यक्रममा वन तथा वातावरण क्षेत्रका प्राविधिक, संरक्षणकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समारोह वन प्राविधिक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केशव खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। संघका सचिव डेविट महराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सूर्यप्रसाद मैनालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।








