नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे दुई करोड रुपैयाँ नाफा गरेको छ । क्यानले बिहीबार बोर्ड बैठकपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ ।
त्यसअनुसार आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेको छ । उक्त रकममध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको क्यानले जनाएको छ ।
बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई वितरण गरिएको छ । त्यसपछि क्यानको खुद नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको उल्लेख गरिएको छ । गभर्निङ काउन्सिलले पेस गरेको आय-व्यय विवरणको प्रतिवेदन अध्ययन र छलफलपछि क्यानको केन्द्रीय कार्यसमितिले त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।









