गृहपृष्ठ Featured ‘दुई विवाहलाई कानुनी मान्यता दिने चर्चा सामाजिक विकृति निम्त्याउने खतरा’

‘दुई विवाहलाई कानुनी मान्यता दिने चर्चा सामाजिक विकृति निम्त्याउने खतरा’

वैखरी अनलाईन, लुम्बिनी ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले नेपालमा दुई विवाहलाई कानुनी मान्यता दिने विषयमा सार्वजनिक रूपमा आपत्ति जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै यस्तो सोचले सामाजिक विकृति र विसंगतिको ढोका खोल्ने गम्भीर खतरा निम्त्याउने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, “देशका युवायुवतीहरू विदेशिन बाध्य हुनु, घरमै रहेका युवाले पनि एउटा वा दुई सन्तान मात्र जन्माउने प्रवृत्ति देखिनु — यी सबै जनसंख्याको प्राकृतिक सन्तुलनमा असर पार्ने विषय हुन सक्छन् । तर यसको समाधान दुई विवाहलाई कानुनी छुट दिनु कदापि होइन ।”

शिक्षित, सचेत र जिम्मेवार परिवारहरूले यस्ता विकल्पलाई कहिल्यै पनि स्वीकार नगर्ने उहाँको भनाइ छ । बरु यस्तो छुटको फाइदा काम गर्न नसक्ने, दायित्वबाट भाग्ने, मादक पदार्थ सेवन गर्ने र महिला अपमान गर्ने प्रवृत्तिका व्यक्तिहरूले उठाउन सक्ने खतरा रहेको उहाँले औंल्याउनु भएको छ ।

“दुई विवाहको छुटले महिला अधिकारमाथि आक्रमण, पारिवारिक अशान्ति र सामाजिक सन्तुलनको विघटन निम्त्याउँछ,” उपप्रमुख हरिजनले भन्नुभएको छ ।

उहाँले सरकारलाई परिवार विघटन होइन, रोजगारी सिर्जनामा ध्यान दिन सुझाव दिँदै भन्नुभयो, “यदि युवालाई स्वदेशमै सम्मानजनक र स्थायी रोजगारीको अवसर उपलब्ध गराउन सकियो भने वैदेशिक पलायन रोकिन्छ, परिवार बलियो हुन्छ, र समाजमा नैतिकता तथा उत्तरदायित्वको भावना कायम रहन्छ ।”

“दुई विवाह होइन, दुई जनालाई टिकाउने नीति आवश्यक छ,” उपप्रमुख हरिजनको निष्कर्ष छ ।

सम्बन्धित् समाचार