लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आफ्नो एक वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । देउखुरीस्थित राप्ती उपत्यकामा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर तयार पारिएको २५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
बुटवलमा निर्माण भइरहेको १,२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिइएको छ ।
क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमार्फत सिफारिसको व्यवस्था लागू गरिएको छ भने १३ स्थानीय तहमा २६ जना रोभिङ्ग नर्स खटाइ मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा र परामर्श दिइएको छ ।
प्रदेशका सबै अस्पतालहरूमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी वडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका ४१ वटा सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली लागू गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट, डिजिटल भुक्तानी, स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड, एम।आर।आई। सेवा, रगत संकलन तथा भण्डारण केन्द्रको व्यवस्था गरिएको छ ।
गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू गरिएको छ भने मन्त्रालयस्तरमा सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह थालिएको छ । अस्पतालमा प्रयोग हुने उपकरण तथा सामग्री व्यवस्थापनका लागि उपकरण व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ ।
स्वास्थ्य बीमा तथा जनस्वास्थ्य सेवा विस्तार अन्तर्गत ३,८५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको छ भने १ लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । मन्त्रालय मातहतका २,०६४ कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराइएको छ र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको छ ।
५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति गरी सेवा सुरु गरिएको छ । ४ वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भइसकेका छन् भने ७ वटा निर्माणाधीन अवस्थामा छन् । रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना गरी सेवा विस्तार गरिएको छ ।
प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम गरिएको छ भने ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवा युक्त पालिकाको रूपमा घोषणा गरिएको छ । महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन गरिएको छ । बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्ण बिन्दु प्राशन सेवा विस्तारका लागि मानव कार्यविधि तयार पारिएको छ, जसअनुसार अब सबै जिल्लामा विस्तारको तयारी भइरहेको छ ।
प्युठानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत ७६ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ भने १०२ नम्बरमार्फत प्रादेशिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । तीन जिल्लामा फेमिली हेल्थ प्रोफाइल तयार पारिएको छ भने आगामी आर्थिक वर्षमा थप चार जिल्लामा विस्तार गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । मन्त्री सारुले प्रदेशवासीको स्वास्थ्य सुधारमा मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सर्वसुलभ र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुने बताएका छन् ।








