ब्राजिलले महिलाको कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै कीर्तिमानी नवौँपटक उपाधि जितेको छ ।
६ पटक विश्वकै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भइसकेकी ३९ वर्षीया मार्टाले ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । बेन्चबाट मैदान प्रवेश गरेपछि मार्टाले कोलम्बियाको पोस्टमा दुई गोल गरिन् । उनले इन्जुरी समयको छैटौँ मिनेटमा ३–३ का लागि बराबरी गोल गरी ब्राजिललाई उपाधिको आशा दिलाइन् ।
इन्जुरी समयमा उनकै गोलको सहयोगमा ब्राजिलले पहिलोपटक अग्रता लियो । खेलको ११५औँ मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले ४–४ को बराबरी गोल गरिन् । त्यसपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भयो ।
टाइब्रेकरमा ब्राजिलकी गोलरक्षक लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाइन् । गोलरक्षक लोरेनाको यसै प्रदर्शनमा ब्राजिलले लगातार पाँचौँ र समग्रमा नवौँपटक कोपा अमेरिका महिला उपाधि हात पार्यो । ब्राजिलले पछिल्ला पाँचमध्ये चार फाइनलमा कोलम्बियालाई नै हराएर उपाधि जितेको हो ।







