रेसुङ्गा ।
गुल्मीको सत्यवतीमा अर्घेला पाखापखेरालाई फलफूलको बगान बनाउन आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८३ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएका छन् । व्यक्तिगत, समूह र सहकारी तथा सार्वजनिक जग्गामा फलफूल तथा मसलेदार रुखका बिरुवा रोपिएको हो ।
लुम्पेकमा कृषि पर्यटनलाई जोड्न सत्यवती धार्मिक क्षेत्रमा तीन वर्षदेखि चिया र कफी रोपिएका छन् ।
बिरुवा थप्ने, काँटछाँट गर्नेलगायतका काम सामुदायिक रूपमा हुँदै आएका छन् । भार्सेमा लामपाटा कृषि तथा पशुपन्छी फार्ममार्फत चक्लाबन्दी गरेर चार हजारभन्दा बढी सुन्तला रोपिएका छन् । संस्थाका अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले दुई सय रोपनीमा स्थानीय १२ जना व्यावसायिक सुन्तला उत्पादक मिलेर फार्ममार्फत सुन्तला रोपेको बताउनुभयो ।
तीमध्ये तीन सय बोटले आम्दानी दिन थालेका छन् । आफूले सुन्तला बेचेर मात्रै वर्षमा चार लाख कमाए पनि सामुदायिक भावनाका साथ समूहमा काम गरेको बुढाथोकीले बताउनुभयो । उहाँले अहिलेसम्म पालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत करिब २५ लाख रुपियाँ खर्च भए पनि आफूहरूले दोब्बर मेहनत र खर्च गरेको बताउनुभयो ।
लिम्घाको सिरुखर्कमा डेढ सय रोपनीमा कागती र एकसिङ्गमा डेढ सय रोपनीमा ड्र्यागन, आँप, अस्ट्रेलियन बदाम, एभोकाडोलगायतका फलफूलका बिरुवा रोपेको सत्यवती गाउँपालिकाका कृषि अधिकृत पुकार भण्डारीले जानकारी दिनुभयो ।







