गृहपृष्ठ Featured कपिलवस्तुका ४ सय ५५ बालबालिकामा कुपोषण

कपिलवस्तुका ४ सय ५५ बालबालिकामा कुपोषण

कपिलवस्तु —

जिल्लामा ४ सय ५५ जना कुपोषित बालबालिका रहेका छन् । ६ महिनादेखि ५९ महिना उमेर समूहका जिल्लामा ५० हजार २६२ बालबालिका रहेकामा १ सय ७९ बालक र २ सय ७६ बालिका कुपोषित रहेको पाइएको हो ।

‘मुवाक टेप’ र ‘जेड स्कोर’ विधिबाट कुपोषित बालबालिकाको पहिचान गरेर उपचार भइरहेको छ । जिल्लामा कडा खालका ८ जना, मध्यम ४२ र सामान्य ४ सय ५ जनामा कुपोषण रहेको पाइएको छ । उनीहरुको १० वटा स्थानीय तहमा रहेका स्वास्थ्य चौकी अन्तर्गत सञ्चालित पोषण उपचार केन्द्र (ओटीसी) बाट उपचार भइरहेको छ । कडा खालकालाई ३ महिना र सामान्य र मध्यम खालकालाई दुई महिना उपचार गरेपछि कुपोषण निको हुने जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन मोहम्मद ईफानले बताए ।
सजगता अभावमा दक्षिणी क्षेत्रका गाउँमा जन्मेको दुई वर्षसम्म आमा र गाईको दूध मात्र खुवाउने र पत्रु खाना खुवाउँदा कुपोषणको समस्या देखिएको हेलेन केलर इन्टरनेसनलद्वारा सञ्चालित पोषणमार्फत जीवन रुपान्तरण कार्यक्रमकी फिल्ड अफिसर सुस्मिता शर्माले बताइन् । ‘पोषणका लागि लिटो, जाउलो र पोषिलो कुरा खुवाउनु पर्छ,’ उनले भनिन्, ‘गाउँमा अल्छी गर्ने, नखुवाउने र खुवाए पनि नियमित नखुवाउनाले समस्या बल्झिँदो छ ।’ भर्खर गरिएको एक सर्वेक्षणमा ४६ हजार ३८० बालबालिकामा ६ सय ६९ जनामा दोहरिएर कुपोषित देखिएको उनले बताइन् । यो पनि समस्याका रुपमा देखा पर्न थालेको छ ।

कुपोषणले मानिसलाई ठूलो भएपछि शारीरिक र मानसिक समस्या हुने हुँदा गाह्रो हुने कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए । ‘कुपोषण न्यूनीकरण नभए अरु क्षेत्र शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा राज्यले गर्ने लगानी पनि प्रभावकारी हुँदैन,’ उनले भने ‘त्यही भएर कुपोषण हटाउन सबै लाग्नु पर्छ ।’

सम्बन्धित् समाचार