रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताएका छन् ।
उनले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय तथा सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । ‘स्थानीय तहसँगको समन्वय र सहकार्यको महत्वलाई बुझ्दै हामी अगाडि बढिरहेका छौं । स्थानीय तहलाई आवश्यक पर्ने कानूनहरूको निर्माणमा भावना र मर्मलाई आत्मसात् गर्दै विधेयकहरू निर्माण भइरहेको छ’, मुख्यमन्त्री आचार्यले भने ।
मुख्यमन्त्री आचार्यले सुशासनको अभ्यासको उदाहरणस्वरूप आफू नेतृत्वको सरकारले एकपटक मुख्यमन्त्री बनेपछि दश वर्षसम्मका लागि पाउने पूर्वपदाधिकारीको सेवा–सुविधा खारेज गरेको स्मरण गराउँदै भने, ‘यस निर्णयबाट सरकारले पारदर्शिता र जवाफदेहीताको लागि गरेको अभ्यास प्रष्ट हुन्छ ।’








