गृहपृष्ठ Featured त्रिवि क्रिकेट रंगशालाको ढलान सकियो, प्यारापिट १० दिनमा तयार हुने

त्रिवि क्रिकेट रंगशालाको ढलान सकियो, प्यारापिट १० दिनमा तयार हुने

काठमाडौँको कीर्तिपुरस्थित निमार्णाधीन त्रिवि क्रिकेट रंगशालाको प्यारापिटतर्फको काम १० दिनमा सकिने निर्माण कम्पनीले दाबी गरेको छ।

प्यारापिट निमार्णको ठेक्का पाएको बीकेओआई-केसीडीसी-बीजी जेभीले बिहीबार (आज) बिहान मात्रै ढलानको सबै काम सकिएको जानकारी दिएको हो।

‘एउटा ब्लक बाँकी थियो, गएराति ८ बजेबाट सुरु गरेर बिहानसम्ममा ढलानको काम सकियो। अब मसिना कामहरू मात्र बाँकी छन्। १० हजार क्षमताको प्यारापिट हो। ६ हजार बढी कुर्सी फिट गरिसकेका छौँ। अरु पनि कुर्सीको कलर नमिलेर मात्र ढिलाइ भएको थियो, ‘बीकेओआई-केसीडीगसी-बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले भने, ‘आज कुर्सी पनि सबै आइसक्यो। कलर मिलाएर बाँकी पनि फिट गर्न थाल्छौँ। रेलिङको काम पनि भइरहेको छ। अबको १० दिनमा काम सक्ने लक्ष्य हो।’

प्यारापिटको इस्ट ब्लक अर्थात भीआईपीतर्फको ब्लकमा प्लास्टरको काम बाँकी छ। त्यो ४,५ दिनमा सकिने गिरीको भनाइ छ। प्यारापिट निमार्णका लागि बीकेओआई-केसीडीसी-बीजी जेभीले ४३ करोड ७७ लाख रूपैयाँमा ठेक्का पाएको थियो।

 

फ्लड लाइड जडानको ठेक्का भने विशाण-ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रूपैयाँमा पाएको छ। प्यारापिटको काम अन्तिम चरणमा पुग्दा फ्लड लाइटको काम भने सुस्त गतिमा छ। फ्लड लाइटको काम सम्पन्न गर्न अझै २ महिना समय आवश्यक पर्ने विशाण–ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहले जानकारी दिए।

प्यारापिटपछाडि ६ वटा प्वाइन्ट राखेर फ्लड लाइटको काम भइरहेको छ। फ्लड लाइटका लागि ३ वटा पोलमात्र आएको छ। ३ वटा पोल आउन अझै बाँकी छ।

सम्बन्धित् समाचार