गृहपृष्ठ Featured नेपाल प्रथम राजेश पौडेललाई आवर विज्डम विद्यालयद्वारा सम्मान

नेपाल प्रथम राजेश पौडेललाई आवर विज्डम विद्यालयद्वारा सम्मान

बैरिया ।  बाणगंगा नगरपालिका–१ बैरिया स्थित आवर विज्डम आवासीय माध्यमिक विद्यालयले विद्यालयका पूर्व विद्यार्थी राजेश पौडेललाई  सम्मान गरेको छ। कक्षा नर्सरीदेखि कक्षा १० सम्म आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेका पौडेलले क्यानन मा.वि. बुटवलबाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को परीक्षामा विज्ञान संकायबाट ३.९६ जिपिए प्राप्त गर्दै नेपाल प्रथम स्थान हासिल गरेका हुन्।

उक्त उल्लेखनीय उपलब्धिको कदर गर्दै विद्यालयले उनलाई सम्मान–पत्र प्रदान गरेको हो। कार्यक्रममा विद्यालयका प्राचार्य नारायण शर्मा न्यौपानेले राजेशको शैक्षिक मेधा, अनुशासन र परिश्रमप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी उमनाथ पौडेलले यस्ता सफलता प्राप्त विद्यार्थीहरूले विद्यालयको प्रतिष्ठा बढाउनुका साथै अभिभावक र विद्यार्थीहरूको विश्वास समेत थप दृढ बनाउने बताए।

1000042679.jpg

 

सम्मानित विद्यार्थी राजेश पौडेलले आफूले आगामी दिनमा इन्जिनियरिङ्ग अध्ययन गरेर देश र जनताको सेवा गर्ने संकल्प व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सह–सचिव कृष्ण प्रसाद पौडेल, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालय परिवारले राजेशको उत्कृष्ट उपलब्धिमा गर्व गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित् समाचार