रुपन्देही ।
नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा पहिलो चरणमा चार जनाको नाम प्रस्ताव भएको छ ।
कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा पार्टीको क्षेत्र नं ३ को बैठकमा चार जनाको नाम प्रस्ताव भएको एक पदाधिकारीले जनाएका छन् । बैठकमा एक जना पनि महिलाको नाम प्रस्ताव नभएको उनले जनाएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन यसअघि निर्देशन दिएको छ ।
शुक्रबार बसेको बैठकमा पार्टी पोलिटब्यूरो सदस्य तथा सोही क्षेत्रको इन्जार्जसमेत रहेका खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, भैरहवाका यज्ञजित साह र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीको नाम प्रस्तावित भएको हो । बैठकमा उम्मेदार चाहना भएकाले आफै आफ्नो नाम प्रस्ताव गरेका थिए ।
क्षेत्रीय कमिटी बैठकले गरेको यही नाम जिल्लालाई सिफारिस गरेको हो । अब जिल्लाले प्रदेशलाई सिफारिस गर्ने छ भने प्रदेशबाट केन्द्रमा गएपछि उम्मेदारको टुंगो लाग्ने छ । यो बैठकमा सहभागी महिलाहरुले नामका लागि नाम नराख्ने जनाएपछि कुनै महिलाको नाम नपरेको एक सहभागीले जनाए ।
शुक्रबारको बैठकमा सहभागी नेताहरुका अनुसार आकांक्षा राखेका ४ जनामध्ये भट्टराई र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने जनाएका छन् । ०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहोरालाई सघाएर जिताएको थियो । समानुपातिकमा भने कांग्रेसपछि दोस्रो स्थानमा रहेको थियो ।








