गृहपृष्ठ Featured अमेरिकी राष्ट्रपतिसँग भेट्नुअघि भारत र चीनसहित ५ देशका सरकार प्रमुखसँग रुसी राष्ट्रपतिको छलफल

अमेरिकी राष्ट्रपतिसँग भेट्नुअघि भारत र चीनसहित ५ देशका सरकार प्रमुखसँग रुसी राष्ट्रपतिको छलफल

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटवार्ताबारे चीन र भारतसहित पाँच वटा देशका सरकार प्रमुखहरूसँग युक्रेन युद्धबारे छलफल गर्नुभएको छ । पुटिनले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलारसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, कजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेव र उज्वेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्नुभएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

त्यसअघि पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफसँग छलफल गर्नुभएको थियो । छलफलमा चीनका राष्ट्रपती सी ले युक्रेन युद्ध समाधानबारे अमेरिका र रुसबीच कुराकानी हुनु सकारात्मक भएको बताउनुभएको छ । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अलास्कामा यही अगस्ट १५ तारिखमा भेटवार्ता हुने तय भइसकेको छ । भेटमा रुस–युक्रेन युद्धविरामबारे छलफल हुनेछ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि युक्रेनले आफ्नो केही भू–भागमाथिको दाबी छाड्नु पर्ने हुनसक्ने सङ्केत गर्नुभएको केही घण्टामै युक्रेनी राष्ट्रपतिले त्यसका लागि आफ्नो देश तयार नभएको बताउनुभएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अतिक्रमणकारीलाई आफ्नो देशको भूमि नदिने प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ । उहाँले युक्रेनको सहमति विना हुने कुनै पनि निर्णय मान्य नहुने बताउनुभएको छ ।

सम्बन्धित् समाचार