गृहपृष्ठ Featured दिल्लीको सडकबाट सबै कुकुर हटाउन भारतीय सर्वोच्च अदालतको आदेश

दिल्लीको सडकबाट सबै कुकुर हटाउन भारतीय सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले दिल्लीको सडकबाट १०औं हजार कुकुर हटाउन आदेश दिएको छ । कुकुरको टोकाइमा वृद्धिबारे सुनुवाइ गर्दै सर्वोच्च अदालतले कुकुर समातेर व्यवस्थापन गर्न आदेश दिएको हो ।

अदालतले शहरका सरकारी अधिकारीहरूका नाममा आदेश जारी गर्दै ८ हप्ताभित्र कुकुर आश्रय स्थापना गर्न र समातिएका कुकुरहरूको दैनिक रेकर्ड राख्न भनेको छ । आदेशमा अदालतले सडकमा एउटा पनि बेबारिसे कुकुर नछाड्न भनेको समाचार संस्था एएफपीले जनाएको छ ।

अदालतले कुकुरहरूलाई हटाउन बाधा पुर्‍याउने पशु अधिकारकर्मीविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ । साथै अदालतले कुकुरको टोकाइ रिपोर्ट गर्न २४ घण्टे हेल्पलाइन स्थापना गर्न र अधिकारीहरूले रेबिज विरोधी खोपहरू उपलब्ध भएका ठाउँहरूको सार्वजनिकीकरण गर्नुपर्ने पनि आदेश दिएको छ ।

उपलब्ध सबैभन्दा पछिल्लो तथ्याङ्क अर्थात् सन् २०१२ को भारतको पशुधन जनगणना अनुसार दिल्लीको सडकमा कम्तीमा ६० हजार बेवारिसे कुकुर बस्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वव्यापी रेबिजबाट हुने मृत्युको एक तिहाइभन्दा बढी भारतमा हुने गरेको छ । भारतीय संसद‍्मा पेश भएको तथ्याङ्क अनुसार सन् २०२४ मा दिल्लीमा कुकुरको टोकाइबाट ३७ लाखभन्दा बढी घटना भएकामा ५४ जनाको रेबिजका कारण ज्यान गएको छ ।

सम्बन्धित् समाचार