गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाले बनायो जलवायु अनुकूलनको दीर्घकालीन रोडम्याप

बाणगंगाले बनायो जलवायु अनुकूलनको दीर्घकालीन रोडम्याप

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय नेतृत्वमा आधारित अनुकुलनका लागि नगरपालिका स्तरिय को–क्रिएसन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगरले उत्थानशील, अनुकूलन र समावेशी नेपाल परियोजना (Rain) कार्यक्रम अन्तर्गत ठोस कार्ययोजना निर्माणसहित २ दिने कार्यशाला सम्पन्न गरेको हो ।

आज शुक्रबार दोस्रो दिन विभिन्न सत्रहरूमा कार्ययोजना तयार गर्दै २ दिने कार्यशाला सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन विहिबार नगर प्रमुख चक्रपाणी अर्यालले गर्नुभएको थियो ।

नगरप्रमुख अर्यालले विकसित देशहरुमा भईरहेको तीब्र औद्योगिकरणले जलवायु परिवर्तनको संकट निम्ताएको भन्दै त्यसको प्रत्यक्षमा नेपाल जस्ता विकाशोन्मुख देशहरु परिरहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले बाणगंगालाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न, विपत्तिप्रति तयार रहन र सबै वर्गको समावेशिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस परियोजना अन्तर्गत चल्ने कार्यक्रमको ठोस कार्ययोजना निर्माण गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्दै परिणाम देखाउन नगर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख रिताकुमारी चौधरीले समापन सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले बाढी, डुबान, खडेरी, कृषि बालीमा किराको प्रकोप, पानीका स्रोतको विलय जस्ता प्रतिकुलतासंग जुध्न परिरहेको बताउनुभयो । यसको न्युनीकरणमा विश्व जगत नै गम्भिरताका साथ एकसाथ लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो । यस्ता परियोजनाले भविष्यका लागि मार्गदर्शन प्रदान गर्ने उहाँको भनाई छ । “यो परियोजना केवल आजको आवश्यकता मात्र होइन, भविष्यका लागि पनि मार्गदर्शन गर्नेछ । हामीले तयार पारेको कार्ययोजना अब नगरको दीर्घकालीन योजनासँग जोडेर लागू गरिनेछ,” उनले भनिन् ।

कार्यक्रमको दोस्रो दिन सहभागीहरूले बाढी, डुबान, नदी कटान, आगलागी, खडेरी जस्ता मुलभूत समस्याहरु समूहगत रुपमा छलफल गरि त्यसको न्युनीकरणको विषयमा विस्तृत कार्ययोजना निर्माण गरेका थिए । तयार गरिएको कार्ययोजना क्रमिक रूपमा लागू गरिनेछ र यसमा स्थानीय समुदाय, संस्थागत साझेदारी र सरकारी निकायको सक्रिय भूमिका रहने परियोजनाले जनाएको छ ।

उक्त कार्यक्रममा लि बर्डका प्रतिनिधिहरु हरिकृष्ण भट्टराई, केशव पौडेल, दिनेश कुमार शाह, रामप्रसाद भुसाल लगायतले परियोजनाको बारेमा स्पष्ट पार्नुभएको थियो ।

दुई दिनसम्म चलेको कार्यक्रममा नगरप्रमुख, उपप्रमुखसहित,  वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यज्यूहरू, विषयगत शाखाका शाखा प्रमुख, सामुदायिक वनका प्रतिनिधि, सहकारी, रेडक्रस, सञ्चारकर्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव खिमबहादुर जिसीले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार