कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १ सय १५ जनाले रगतदान गरेका छन् । यो संख्यालाई शिवराज नगरकै ऐतिहासिक रेकर्ड रहेको संघका नगर अध्यक्ष नारायण सापकोटाले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तवले राजनीतिक परिवर्तनका आन्दोलनमा रगत बगाएका युवाहरू अहिले रक्तदानजस्ता मानवीय सेवामा अग्रसर हुनु गर्वको विषय भएको बताए।
त्यस्तै, एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले रक्तदान मानवताको दृष्टिकोणले पुण्य कार्य भएको उल्लेख गर्दै समय समयमा रक्तदान गर्नु जीवन र स्वास्थ्य दुवैका लागि लाभदायी हुने बताए। एमाले प्रदेश सदस्य अर्जुन केसीले पनि रगतदानलाई पुण्यको काम बताउँदै निरन्तर यस्ता अभियान आवश्यक रहेको धारणा राखे।
दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा शिवराज नगर अध्यक्ष, युवा संघका जिल्ला सह–इन्चार्ज गोपाल मणि ज्ञावाली, केन्द्रीय सदस्य विष्णु हमाल, जिल्ला अध्यक्ष तिलक गिरीलगायतका नेताहरूले रक्तदानलाई ऐतिहासिक र प्रेरणादायी कदम भन्दै युवाको सक्रिय भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, समाजसेवी, अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थित र सहभागिता रहेको थियो।
आधारभूत अस्पताल चन्द्रौटामा सम्पन्न उक्त रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बुटवल (रुपन्देही) को प्राविधिक सहयोगमा सम्पन्न भएको हो।








