काठमाडौं । सरकारले तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा समावेश गराउन पुन: प्रस्ताव पेस गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्तो जानकारी दिएका हुन् । बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८औं ‘वर्ल्ड हेरिटेज कमिटी’ बैठकमा तिलौराकोटको प्रस्ताव पुन: प्रस्तुत गरिने बताए ।
‘भारतले प्रस्तावित स्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो,’ मन्त्री पाण्डेले भने, ‘तर, नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाण छन्, अब समस्या आउँदैन ।’
मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’ मा पर्न नदिन भारतले सहयोग पुर्याएको समेत बताए । यद्यपि, लुम्बिनी विकास कोषले अपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले केही सुधारात्मक काम अगाडि बढेको र आगामी दिनमा योजना थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।








