गृहपृष्ठ Featured रुपन्देहीमा सुन पैठारी प्रकरण : २ करोड ६२ लाख जरिवाना माग दाबी

रुपन्देहीमा सुन पैठारी प्रकरण : २ करोड ६२ लाख जरिवाना माग दाबी

रुपन्देही ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालत, भैरहवामा अभियोगपत्र दायर गरेको छ ।

विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत गरेको अनुसन्धानपछि भारतको पंजाब अमृतशहरका कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा १६, कोटीहवाका रामबहादुर बिकविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा प्रतिवादीहरूले सुनका गरगहनाको खरिद स्रोत, बिलबिजक तथा भन्सार प्रज्ञापन पत्रजस्ता कानुनी कागजात नदेखाई भन्सार चोरी पैठारी गरी कारोबार गरेको पुष्टि भएको विभागले जनाएको छ ।

यसरी भन्सार महसुल तथा कारोबार लुकाई दफा ३ ले निषेध गरेको कार्य गरी दफा ४ को विभिन्न उपदफाअनुसार कसुर भएको ठहर गरिएको छ ।

विभागले मुख्य अभियुक्त कुलदिप सिंहलाई एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तिस पैसा बिगो कायम गरी सो रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जनाएका छन् ।

त्यस्तै, सहअभियुक्त रामबहादुर बिकलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् बाउन्न लाख चौवन्न हजार दुई सय छ रुपैयाँ कायम गरी सजायरजरिवाना माग गरिएको छ ।

दुवै प्रतिवादीलाई गरी विभागले जम्मा दुई करोड बैसठ्ठी लाख एकहत्तर हजार उनन्तिस रुपैयाँ बिगो तथा जरिवाना दाबी गर्दै २०८२ साल भदौ २ गते जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगर, भैरहवाबाट राय लिएर अदालतमा अभियोगपत्र दायर गरेको घिमिरेले जनाए ।

सम्बन्धित् समाचार