वैखरी अनलाइन, लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका –२ का वडा अध्यक्ष ईनामुल्लाह फकिर बिदाको दिनसमेत वडाबासीको सेवामा सक्रिय रहेका छन्।
वडा अध्यक्ष फकिर वडा कार्यालयको टोलीसहित विभिन्न गाउँटोलमा पुग्दै सामाजिक सुरक्षा भत्ता वितरणदेखि आवश्यक सिफारिस जस्ता सेवा स्थानीयको घरदैलोमै पुर्याइरहेका छन्। बायोमेट्रिकसहितका सेवा गाउँमै उपलब्ध भएपछि वडाबासी उत्साहित भएका छन्।
स्थानीय रामलाल यादव भन्छन्, “अध्यक्षले गाउँमै आएर सेवा दिनुभएको छ, यसले हामीलाई निकै सहज भएको छ।”
वडाबासीलाई समयमै सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको वडा अध्यक्ष फकिरले वैखरीसँग बताएका छन्।
शनिबारका दिन पनि उनीसँगै वडा सचिव पशुपति लम्साल स्थानीय सेवामा खटिएको देख्दा यो विषय स्थानीयबीच प्रशंसा र चर्चाको केन्द्र बनेको छ।
यसले गर्दा ‘सिंहदरबार गाउ–गाउँमा’ आएको अनुभूति वडाबासीले गर्न पाएको उनीहरूले बताएका छन्।








