वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित “बाणगंगा कप २०८२” क्रिकेट प्रतियोगिता हुने भएको छ ।
90 ’स वारियर्सको आयोजनामा हुने यस प्रतियोगिता आगामी भदौ १८ गते, बुधबार बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा सुरु हुने छ ।

५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तोकिएको यस प्रतियोगिताको विजेताले नगद ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
खेल संयोजक बिक्रम घिमिरेले बाणगंगा कपलाई स्थानीय खेलाडीको प्रतिभा विकास गर्ने साझा मंचका रूपमा लिएको बताउनुभयो । “हामीले यो प्रतियोगिता खेलप्रति रुचि बढाउन र प्रतिभाशाली युवा खेलाडीलाई अवसर दिलाउन आयोजना गरेका हौं । यसले बाणगंगामा खेलकुदमैत्री वातावरण निर्माणमा ठूलो योगदान पुर्याउनेछ,” उहाँले भन्नुभयो ।
उहाँले यस प्रतियोगिता खुला भएकाले छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, दाङ्ग, नगवपरासी लगायतका टिमहरु सहभागी हुने जानकारी दिनुभयो ।
यस प्रतियोगिता आयोजनामा बाणगंगा स्पोर्ट्स क्लबले सहयोगी भूमिका निर्वाह गरेको जनाईएको छ ।
इच्छुक टोलीहरूले सहभागिताका लागि सम्पर्क नम्बर – ९८४७२०३७९५, ९८४९००५२६५ र ९८५७०५१३३२ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।








