काठमाडौं ।
देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
शुक्रबार (भदौ १३) दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।
इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), दाङ, जुम्ला, डोल्पा, मुगु र हुम्ला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।










