वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१ मा रहेको शिवमन्दिर सामुदायिक वन क्षेत्रमा मानव कंकाल फेला परेको छ ।
शनिबार बिहान स्थानीयले वनभित्र कंकाल देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराएका थिए । सोही क्रममा प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार कंकाल महिलाको भएको पुष्टि भएको छ । उहाँले भन्नुभयो, “फेला परेकी महिला करिब ५० वर्षभन्दा माथि उमेरकी हुन सक्ने अनुमान गरिएको छ । करिब ३ महिना अघि मृत्यु भएको देखिन्छ ।”
स्थानीयवासीका भनाइ अनुसार कंकाल यहाँका स्थायी बासिन्दाको नभई बाहिरी क्षेत्रबाट आउने एक महिलाको हुन सक्ने आशंका गरिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।








