गृहपृष्ठ Featured बुटवलको मेला आयोजना गर्न उद्योग संघ र उद्योग व्यापार संघको हानथाप

बुटवलको मेला आयोजना गर्न उद्योग संघ र उद्योग व्यापार संघको हानथाप

रुपन्देही ।

बुटवलको पुसे मेला आयोजना गर्न रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले हानथाप गरेका छन् । ०७८ सालमा भएको सहमतिलाई दुवै संस्थाले आफू अनुकूल व्याख्या गर्दै आउने पुसको पहिलो सातामा एकै ठाउँमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने मिति घोषणा गरेका छन् ।

शनिवार बिहान उद्योग संघले प्रदर्शनी स्थल रामनगरको गेट अघि बोर्ड राखेर पुसको ३ देखि १७ गतेसम्म मेला सञ्चालन गर्ने औपचारिक घोषणा गरेको छ भने त्यसको प्रतिकारमा उद्योग व्यापार संघले दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर पुस ४ गतेदेखि १८ गतेसम्म मेला चलाउने पूर्वनिर्णयबाट बाहिर नआउने दाबी गरेको छ ।

गत पुसमै व्यापार संघले पत्रकार सम्मेलन गरेर मेला चलाउने घोषणा गरेको थियो । बुटवल मण्डपको गेटमा केही दिन अगाडि उद्योग व्यापार संघले मेलाको जानकारी दिने ब्यानर राखिसकेको छ ।

रुपन्देही उद्योग संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला सञ्चालन सम्बन्धमा गरिएको समझदारीअनुसार १६ औँ प्रदर्शनीका लागि शनिवार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको हो । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिवार औपचारिक रूपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर यसको सुरुवात गरेको जनाएको छ ।

प्रदर्शनी गेट परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलीप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यावसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जनाए ।

सम्बन्धित् समाचार