२९ असोज, बुटवल ।
बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुरु भएको छ । प्रकोप, द्वन्द्व र शान्ति बिषयलाई केन्द्रमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो।
सम्मेलनमा विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुनाहरु सहित ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको सहभागिता छ । सम्मेलनको बुधबार सांझ लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरेका हुन्।
वैज्ञानिक सम्मेलन शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले शान्तिभूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।
ईकोमस अन्तर्राष्ट्रियका अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामा, युनेस्को नेपाल प्रमुख ज्याको दु टोयोट, सम्पदाविज्ञ कोष प्रसाद आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिष्टार डा गितु गिरी, थाई विहार लुम्बिनीमा प्रमुख भन्ते राजबोधी सुफोथ, साँस्कृतिक सम्पदा विज्ञ काईवाईजे लगायले बोल्दै सम्मेलन मार्फत सम्पदा संरक्षणका उत्कृष्ट अभ्यासका अन्तर्राष्ट्रिय मापदण्डहरू निर्माणमा अग्रणी भूमिक खेल्ने विश्वास व्यक्त गरे।
इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे।