फाइल तस्वीर, एएफपी
संयुक्त राष्ट्रसङ्घले विश्वका झन्डै ८० प्रतिशत गरिब अर्थात् झन्डै ९० करोड मानिस जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेका चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषणजस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित नभएका तर गरिब वर्ग अझ मारमा परेका बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उहाँले आउँदो नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप–३०) लाई विश्व नेताहरूले ‘जलवायु कार्यलाई गरिबीविरुद्धको कार्यका रूपमा हेर्ने अवसर’ बनाउन आग्रह गर्नुभएको छ ।
यूएनडीपी र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभले संयुक्त रूपमा प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार विश्वका १०९ देशमा रहेका १ अर्ब १० करोड मानिस अर्थात् झन्डै १८ प्रतिशत जनसङ्ख्या ‘तीव्र बहुआयामिक गरिबी’ मा बाँचिरहेका छन् । यो गरिबी शिशु मृत्युदर, आवास, सरसफाइ, बिजुली र शिक्षामा पहुँचजस्ता मापदण्डहरूका आधारमा मापन गरिएको हो । तीमध्ये आधा बालबालिका रहेका खबरमा उल्लेख छ ।
प्रतिवेदनमा बोलिभियाको सान्ता क्रुज डे ला सिएराबाहिर बसोबास गर्ने गुआरानी आदिवासी समुदायका रिकार्डोको उदाहरण दिइएको छ । उनले आफ्नो परिवारका १८ सदस्यसँग सानो घर साझा गर्नुपरेको छ । घरमा एउटा मात्र शौचालय, काठ र कोइलाबाट चल्ने भान्सा छ र कुनै पनि बालबालिका विद्यालय जाने अवस्था छैन । प्रतिवेदनले यो अवस्थालाई ‘बहुआयामिक गरिबीको यथार्थ प्रतिबिम्ब’ भएको बताएको छ ।
विश्वका सबैभन्दा धेरै प्रभावित क्षेत्रहरू उपसहारा अफ्रिका र दक्षिण एशिया रहेका छन् । प्रतिवेदनले गरिबी र चार प्रमुख वातावरणीय जोखिमहरू – चरम गर्मी, खडेरी, बाढी र वायु प्रदूषणबीचको सम्बन्धलाई स्पष्ट पारेको छ ।
गरिब परिवारहरू विशेषगरी असुरक्षित क्षेत्रहरूमा निर्भर भएकाले जलवायु आघातप्रति बढी संवेदनशील हुने प्रतिवेदनमा उल्लेख छ । कृषि र अनौपचारिक श्रममा निर्भर जनजीवनमा जब बारम्बार जलवायु विपद् आउँछ त्यसले विद्यमान अभावहरू झनै गहिरो बनाउँछ ।
विश्वव्यापी रूपमा ८८ करोड ७० लाख मानिस अर्थात् ७९ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिमको प्रत्यक्ष असरमा परेका छन् । तीमध्ये ६० करोड ८० लाख मानिस चरम गर्मी, ५७ करोड ७० लाख वायु प्रदूषण, ४६ करोड ५० लाख बाढी र २० करोड ७० लाख खडेरीबाट पीडित छन् । झन्डै ६५ करोड १० लाख मानिस कम्तीमा दुई जोखिममा, ३० करोड ९० लाख तीन वा चार जोखिममा र एक करोड १० लाख मानिसले एउटै वर्षमा सबै चार जोखिम भोगेका छन् ।
दक्षिण एशियाले गरिबी घटाउने प्रगतिका बाबजुद पनि यसको ९९ दशमलव १ प्रतिशत गरिब जनसङ्ख्या कम्तीमा एउटा जलवायु जोखिममा परेको छ । प्रतिवेदनले भनेको छ, ‘यस क्षेत्रले फेरि नयाँ मार्ग तय गर्न आवश्यक छ जसले गरिबी न्यूनीकरण र जलवायु कार्यबीच सन्तुलन कायम गरोस् ।’
विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकोले स्थिति अझ जटिल हुनसक्छ र अहिलेका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्न सक्छन् ।
प्रतिवेदनले निष्कर्षमा भनेको छ, ‘ओभरल्यापिङ जोखिमहरूको सामना गर्न मानव जीवन र पृथ्वी दुवैलाई प्राथमिकता दिन अपरिहार्य छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिचानबाट तत्काल कार्यतर्फ अघि बढ्नु हो ।’








