काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गरी कब्जा गर्ने चेतावनी दिएका छन्।
युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अरु कुनै पनि सम्झौतामा आफू सहमत हुन नसक्ने बताए। पुटिन हाल दुई दिने भ्रमणका क्रममा भारतमा छन्। भारतीय पत्रकारको युक्रेनसँगको युद्ध अन्त्यबारे प्रश्न गर्दा कब्जा गरिरहेको क्षेत्र युक्रेनले नछोडे आक्रमण बढाउने चेतावनी दिएका हुन्।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै पनि भूभाग छोड्न नसकिने भन्दै रूसमाथि दवाव बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। अमेरिकी शान्ति–योजना संशोधित रूपमै मस्को र कीभमा छलफल भइरहेको छ। तर, मुख्य विवादहरू—कब्जा गरिएका भूभागको भविष्य र युक्रेनका लागि सुरक्षा प्रत्याभूति अहिलेसम्म टुंगिएको छैन।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध अन्त्यको सहमति नजिक पुगिएको दाबी गरेका छन्। आफूहरुले संसारभरि शान्ति स्थापना गरिरहेको भन्दै ट्रम्पले रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि सम्झौता गराउने बताए।
अमेरिका बलियो रुपमा पुनरागमन गरेको भन्दै ट्रम्पले संसारभर शान्ति स्थापना गर्ने बताएका हुन्। भारतमा रहेका रुसी राष्ट्रपतिले युक्रेनमाथि थप बल प्रयोग गर्ने चेतावनी दिएकै समयमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।








