तस्वीर : एजेन्सी
श्रीलङ्का सरकारले ६ सय जनाभन्दा धेरैको ज्यान लिएको चक्रवात दित्वाहबाट देशको पुनर्निर्माणका लागि आउँदो वर्ष १ अर्ब ६० करोड अमेरिकी डलर अतिरिक्त खर्च गर्ने योजना घोषणा गरेको छ । श्रीलङ्का सरकारले आज संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको समाचार संस्था एएफपीले जनाएकाे छ ।
चक्रवात दित्वाहका कारण झन्डै २३ लाख मानिसलाई प्रत्यक्ष रूपमा असर गरेको थियो । यो सङ्ख्या श्रीलङ्कको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै हो । चक्रवातका कारण आएको ठूलो वर्षा, बाढी र भूस्खलनले देशका विभिन्न भागमा घर, सडक, पुल, रेलमार्ग र कृषि भूमिमा व्यापक क्षति पुर्याएको थियो ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकले यस विपद्लाई टापु राष्ट्रले सामना गरेको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोपमध्ये एक भएको उल्लेख गर्दै त्यसबारे छलफल गर्न सरकारले एक महिनाको संसदीय अवकाश बीचमै तोडेर आज संसद् अधिवेशन बोलाउनुभएको हो ।
राष्ट्रपति दिसानायकले आवास, सडक, पुल तथा रेल्वे संरचनाको पुनर्निर्माणका साथै प्रभावित नागरिकलाई गुमेको जीविकोपार्जन पुनर्स्थापित गर्न नगद सहायता उपलब्ध गराउन थप १ अर्ब ६६ करोड डलर विनियोजन गर्न संसद्मा प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ ।
राष्ट्रपतिको नेतृत्वमा रहेको दलको दुई तिहाइभन्दा बढी बहुमत रहेको राष्ट्रियसभाले भोलि मिनी बजेट पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि राष्ट्रपति दिसानायकले यो अतिरिक्त खर्च पूरा गर्न सरकार आफ्नो ऋण सीमा बढाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।








