गृहपृष्ठ Featured योगेश भट्टराईले भने– गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्छौं

योगेश भट्टराईले भने– गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्छौं

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको बताएका छन् ।

उनले शनिबार काठमाडौंमा बसेको एमाले ईश्वर पोखरेलपक्षको भेलामा त्यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्’ ‘पार्टीभित्र पक्षपात, गुटबन्दी, विभाजन, काखापाखा गर्ने प्रस्ताव आए भने हामी पार्टी संगठनभित्र बसेर प्रतिवाद गर्छौं ।’

भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको पनि भट्टराईले जानकारी दिए । उनका अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतन्त्रीकरणलगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको छ ।

भट्टराईले भने, ‘हामीले उठाएका विचारहरूलाई पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजका आधारमा पार्टी निर्माणलगायतका विषयलाई विधि र विधानभित्र बसेर निरन्तर उठाउने निष्कर्ष निकालेका छौँ ।’

भेलाले पार्टीको मतपरिणामका कारण विचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट पनि गरेको छ ।

भट्टराईले भने, ‘महाधिवेशनमा पोखरेलको नेतृत्वमा उम्मेदवारी दिनुभएका कमरेडहरूको संक्षिप्त बैठक आयोजना गरेका हौँ । हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध बनाउन हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौँ ।’

महाधिवेशनमा प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्म भएका थुप्रै क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दुरुपयोग गरिएको उनले बताए ।

सम्बन्धित् समाचार