गृहपृष्ठ Featured धानखोला–लमही खण्ड : ४० किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता हुँदै

धानखोला–लमही खण्ड : ४० किलोमिटर सडक स्तरोन्नति गर्न सम्झौता हुँदै

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर  सडक खण्ड मर्मतका लागि सोमबार निर्माण पक्षसँग सम्झौता हुँदैछ।

अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) र नेपाल सरकारको लगानीमा मर्मत हुने भनिएको धानखोला– लमही ४० किलोमिटर सडक खण्ड स्तरोन्नतिको  लागि बोलपत्र आह्वान भएको थियो।

टेण्डर प्रक्रियाबाट शर्मा/कुमार श्रेष्ठ जेभीले कामको ठेक्का पाएको छ। सोही कम्पनीसँग सोमबार सम्झौता हुन लागेको हो।

यही निर्माण कम्पनीले बाँकेस्थित विमानस्थलको टर्मिनल भवनको काम निर्धारित समयभन्दा अगाडि नै सकेको थियो। कोहलपुर –नेपालगन्ज लगयतका सडक निर्माणको काम पनि यही कम्पनीले गरेको थियो।

त्यस्तै धनगढीको निर्माण कम्पनी कुमार श्रेष्ठ पनि ठूला विकास निर्माणको काम समयमै पूरा गर्दै आएको कम्पनी हो ।

आज निर्माण व्यवसायीसँग काठमाडौस्थित होटेल रोयल सिङ्ग्रीमा बिहान १० बजे पछि त्यो सम्झौता हुने एमसिए नेपालका निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्ड स्तरोन्नतिका लागि अघिल्लो वर्षको ३० अक्टोबरमा टेण्डर आह्वान भएको थियो।

ठेक्का आह्वानपछि प्राविधिक मूल्यांकन कार्य पूरा गरी उत्कृष्ट मध्यका निर्माण व्यवसायी छनोट गरिएका हुन्।

नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसनको सह–लगानीमा कार्यान्वय गरिने कार्यक्रमको जिम्मेवार निकायको रुपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए –नेपाल स्थापना गरेको थियो।

जसअनुसार सडक खण्ड स्तरोन्नतिको काम यसअघि नै हुनुपर्ने थियो। नेपालमा भएको विभिन्न राजनीतिक अवरोधका कारण पनि काममा ढिलाइ भएको हो। अमेरिकी सरकार परिवर्तनको असर पनि यसमा पर्‍यो।

पछिल्लो समय फेरि एमसिसी अन्तर्गतको सहायता भने नरोकिने निर्णय ट्रम्प सरकारले गरेपछि मात्रै पुनः सडक स्तरोन्नतिको अन्तर्गतका परियोजनाको काम अगाडि बढेको हो।

सम्बन्धित् समाचार