रुपन्देही ।
बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी नभएको कारण माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत मिर्गौलाका बिरामीहरूको डायलाइसिसमा एक पटक २ हजार ५ सय रुपैयाँ र मुटुका बिरामीहरूको क्याथल्याब उपचारमा १ लाख रुपैयाँ निःशुल्क उपचारका लागि सूचिकृत अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि यस कार्यक्रममा सूचिकृत भई मिर्गौलाका बिरामीहरूको डायलाइसिस र मुटुका बिरामीहरूको उपचार गर्दै आएको थियो।
अस्पतालका अनुसार यस वर्ष मात्रै १,३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीहरूको नियमित उपचार गरी १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरेको छ। तर, सरकारले भुक्तानी नगर्दा अस्पताल चरम आर्थिक संकटमा परेको छ।
उनले औषधि र उपकरण सप्लाइ गर्ने कम्पनीहरूलाई भुक्तानी दिन नसक्दा उनीहरूले सेवा दिन बन्द गर्न थालेको र त्यसकारण बिरामीको उपचारमा समस्या आएको बताए।








