गृहपृष्ठ Featured फिल्मको नायक जस्तो कोही आएर जादु हुँदैन, देश प्रणालीले बन्छ: प्रदीप ज्ञवाली

फिल्मको नायक जस्तो कोही आएर जादु हुँदैन, देश प्रणालीले बन्छ: प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको विकास र समृद्धिका लागि कुनै ‘तिलस्मी’ तत्व वा व्यक्तिको खोजीले मुलुकलाई कतै नपुर्‍याउने बताएका छन्।

पछिल्लो समय राजनीतिक भेटघाट र शक्तिहरूबीचको ध्रुवीकरणलाई लिएर भइरहेका चर्चामाथि टिप्पणी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि त्यसलाई ‘स्वार्थको मिलन’ वा ‘विचारको एकता’ भन्ने कुरा समयले नै प्रस्ट पार्ने उल्लेख गरे। उनले लेखेका छन्, “सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यहीँ पुग्न खोज्नु सकारात्मक हो, तर यस्ता भेटघाटलाई लिएर सिर्जना गर्न खोजिएको ‘तरङ्ग’ भने अर्थहीन छ।”

दक्षिण भारतीय फिल्मको नायक र ‘भ्रान्ति’

सामाजिक सञ्जालमा तिखो टिप्पणी गर्दै ज्ञवालीले अहिलेको राजनीतिक माहोललाई दक्षिण भारतीय चलचित्रको दृश्यसँग तुलना गरेका छन्। “कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन्!” भन्दै उनले कुनै अमुक व्यक्ति मिलेकै भरमा देशले तत्कालै मुक्ति पाउँछ भन्नु एउटा ‘भ्रान्ति’ मात्र भएको दाबी गरे।

प्रणाली र सामूहिकताको आवश्यकता

नेता ज्ञवालीका अनुसार देश बनाउन व्यक्तिको भूमिका भए पनि अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकता नै मुख्य हुन्छ। उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक प्रबन्ध, भूराजनीति र जलवायु परिवर्तन जस्ता गम्भीर मुद्दाहरूमा ठोस विकल्प खोज्नुको सट्टा नकारात्मकता र घृणा मात्र फैलाउन खोजिएकोमा चिन्ता व्यक्त गरे।

मिडिया हाइप र विगतको पाठ

दुई दशक अघिको ‘जनसरकार’ घोषणाका बेला मिडियाले गरेको ‘महिमागान’ स्मरण गर्दै उनले अहिलेको ‘युफोरिया’ (अत्यधिक उत्साह) पनि कपुरको बास्ना झैँ हराएर जाने चेतावनी दिए। उनले भने, “घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो।”

ज्ञवालीले समाजलाई ‘इमोशनल’ (भावुक) भन्दा पनि ‘र्‍यासन्ल’ (विवेकशील) बनाउन सबैमा आग्रह गरेका छन्। सपना देखाउन सजिलो भए पनि त्यो भङ्ग हुँदाको क्षण अत्यन्त पीडादायी हुने उनको तर्क छ।

सम्बन्धित् समाचार