सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सबैको साझा प्रयासबाट मात्र बाणगंगालाई समृद्ध नगरपालिका रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ।
बुधबार बाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरमा सम्पन्न नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा नगरप्रमुख अर्यालले जनप्रतिनिधि र कर्मचारीको प्रयासले मात्र समृद्ध बाणगंगा बनाउने अभियान सफल नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो अभियान नगरवासी सबैको साथ, सहयोग र सकारात्मक भूमिकाबाट मात्र सम्भव छ।”

नगरप्रमुख अर्यालले पछिल्लो समय हरेक विषयलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सकारात्मक आलोचनाले मात्र सुधार र उपलब्धि सम्भव हुने उल्लेख गर्नुभयो। विकास निर्माणका काममा गुणस्तरसँग कुनै सम्झौता नगरिएको बताउँदै गुणस्तरहीन कार्य पाइए तत्काल सम्बन्धित पक्षलाई कारबाही गरिएको दाबी गर्नुभयो। नगरवासीबाट प्राप्त रचनात्मक सुझावलाई सधैं कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।
उहाँले विकास निर्माणका कामहरू देखिने गरी अघि बढिरहेको बताउँदै नगरपालिकाले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। “आलोचना तथ्यमा आधारित र रचनात्मक हुनुपर्छ,” उहाँले भन्नुभयो, “अनावश्यक नकारात्मकताले विकासको यात्रालाई अवरोध मात्र गर्छ।”
उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणलाई नगरको पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। जेन्जी आन्दोलनपछि सरकार फेरबदलका कारण लालपुर्जा वितरण प्रक्रियामा केही ढिलाइ भए पनि अब केही समयमै उक्त कार्यले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो।

यस्तै उपप्रमुख रिताकुमारी चौधरीले सामाजिक सञ्जालमा बाणगंगामा केही पनि काम भएको छैन भन्ने टिप्पणीहरू तथ्यहीन र गलत रहेको बताउनुभयो। उहाँले नगरका कामकारबाहीबाट अधिकांश नगरवासी सन्तुष्ट रहे पनि केही व्यक्तिले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभयो।
नगरले देखिने गरी विकास निर्माणका काम अघि बढाइरहेको उल्लेख गर्दै महिलाको क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि नगरले हरेक वर्ष लाखौँ रुपैयाँ लगानी गर्दै आएको जानकारी दिनुभयो। उक्त लगानीबाट लाभान्वित महिलाहरू आयआर्जनमा जोडिनुपर्नेमा उहाँको जोड थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले चालु आर्थिक बर्षको हालसम्मको कार्यप्रगति विवरण प्रस्तुत गर्दै बाणगंगालाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्न अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।

त्यस्तै वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीले खारखानी पिकनिक स्थलको प्रवर्द्धन, नदी तटबन्ध तथा लक्ष्मणघाट शव स्थल व्यवस्थापनका कामलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। खारखानी पिकनिक स्थल नगर मात्र नभई जिल्लाकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले वडा तथा नगरबाट प्रवाह हुने सेवाहरू सहज रूपमा प्राप्त हुने वातावरण बनेकोमा खुशी व्यक्त गर्नुभयो। जनप्रतिनिधि, कर्मचारी र नगरवासीको साझा प्रयासबाट मात्र बाणगंगालाई नमुना नगरपालिका बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा समाजसेवी शेषकान्त बेल्बासे, केशव बहादुर विक, गणेश परियार, जन्जिर प्रसाद थारु, नेत्र पोख्रेल, मनकला क्षेत्री, लक्ष्मण भट्टराई लगायतले प्रश्न तथा सुझाव राख्दै नगर बजेट हरेक क्षेत्रको प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष दिपा महतले नागरिक प्रतिवेदन र कोषाध्यक्ष मोहल बेल्बासेले बहिर्गमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सनि उल्लाह धोबीले गर्नुभएको थियो।
जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।








