काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्र विशेष महाधिवेशन भएरै छाड्ने बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित गरेपछि सञ्चारकर्मीमाझ बोल्दै महामन्त्री थापाले पुसभित्रै विशेष महाधिवेशन हुने बताएका हुन्।
अबको एक–दुई दिनमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय नगरे केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आयोजना गर्ने उनले बताए।
आफूहरूको फरक मतका बाबजुद आजको बैठकले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको उनले बताए। पार्टीको महामन्त्रीको हैसियतले आफू विधान लागु नभएको कुरा टुलुटुलु हेरेर बस्न नसक्ने बताए।
उनले विशेष महाधिवेशनका लागि काठमाडौँ आउने तयारी गर्न महाधिवेशन प्रतिनिधिलाई निम्तोसमेत दिएका छन्।
उनले सञ्चारकर्मीमाझ भने- ‘विशेष महाधिवेशनको निर्णय कि केन्द्रीय कार्यसमितिले गर्छ, कि विधानको अधिकार प्रयोग गरेर महामन्त्रीले गर्छ, सबै साथीहरूलाई काठमाडौँमा हुने विशेष महाधिवेशनका लागि तयारी अवस्थामा रहन म अनुरोध गर्छु।’








