काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा उद्यमी आशिफ शाहले आगामी निर्वाचनका लागि पार्टीको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।
जनता र पार्टीका कार्यकर्ताहरूको भावनालाई कदर गर्दै आफूले ‘सर्टकट’ बाटो नरोजी सिधै जनताको मत परीक्षण गर्ने निर्णय लिएको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले आफू पदका लागि भन्दा पनि देश निर्माणको हुटहुटीले राजनीतिमा आएको स्पष्ट पारेका छन्।
बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूको एकताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको स्मरण गराउँदै उनले साथीहरूको आग्रहमा सुरुमा समानुपातिक सूचीमा नाम समावेश गर्न राजी भएको खुलासा गरे।
“म राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट भनेको थिएँ,” उनले लेखेका छन्, “तर साथीहरूको सुझावमा समानुपातिक प्रणालीमा अघि बढेको थिएँ। तर पछि आएका प्रतिक्रिया र आत्ममन्थनले मलाई के महसुस गरायो भने—जनता र साथीहरूको भावनामा चोट पुर्याएर सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।”
शाहले आफूले मात्र नाम फिर्ता नलिएर समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि जनभावना बुझेर ‘दुई कदम पछाडि हट्न’ र प्रत्यक्ष निर्वाचनको तयारीमा लाग्न विनम्र आग्रह गरेका छन्।
उनले आफ्नो आगामी लक्ष्य स्पष्ट पार्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा समेत गरेका छन्।
“प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो। हामी काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ,” उनले भनेका छन्, “देशभन्दा ठूलो केही हुँदैन।”








