गृहपृष्ठ Featured तराई क्षेत्रमा चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे

तराई क्षेत्रमा चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे

तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या वृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।

वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।

उनी भन्छन्, ‘जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउँछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।’ उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो ।

‘जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउँछन् । तर, शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,’ उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको भनाइ छ ।

विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा. खड्का बताउँछन् । ‘यो दुखाइले समयमै ध्यान नदिए बिस्तारै दीर्घ रूप लिन सक्छ,’ उनी भन्छन् ।

त्यसैगरी, जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ । साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।

यसैगरी, माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन् ।

डा. खड्का भन्छन्, ‘माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।’

चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् ।

डा. खड्का सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, ‘बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ । सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।’

टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव उनले दिएका छन् ।

जाडो मौसममा सानो लापर्वाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार