गृहपृष्ठ Featured कांग्रेसको निर्देशन- ‘विशेष महाधिवेशन हुदैंन, चुनावमा बहुमत ल्याउन लाग्नू’

कांग्रेसको निर्देशन- ‘विशेष महाधिवेशन हुदैंन, चुनावमा बहुमत ल्याउन लाग्नू’

काठमाडौं ।

नेपाली कांग्रेसले विशेष महाधिवेशनको विशेष महाधिवेशन नहुने भन्दै चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडालाई परिपत्र पठाउँदै विशेष महाधिवेशनको औचित्य ०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको उल्लेख छ।

कार्यसम्पादन समिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरेको भन्दै परिपत्रमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको ब्यहोरा स्पष्ट गरिन्छ ।’

अब फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको छ।

परिपत्रमा भनिएको छ, ‘पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र, पालिका, वडा एवं टोल तहका समितिहरू तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिहरू एवं पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरूको सम्पूर्ण ध्यान यति बेला निर्वाचन केन्द्रित हुनु पर्ने वर्तमान अवस्था छ।

पार्टीका उल्लेखित सबै साङ्गठनिक संरचनामा आबद्ध सदस्य साथीहरू व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

सम्बन्धित् समाचार