मनोज पौडेल , लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीमा एक वर्षमा १ सय ६ देशका पर्यटक र तीर्थालुले भ्रमण गरेका छन् । २०२५ मा भारतीयबाहेक विश्व शान्तिको मुहान लुम्बिनी आधाभन्दा बढी विश्वका पर्यटकले भ्रमण गरेका हुन्
विश्वकै ठूलो मुलुक चीनलगायत ४० हजार १ सय ९७ जनसंख्या भएको र १ सय ६० वर्गकिलोमिटर क्षेत्रफल रहेको सानो युरोपेली मुलुक लिकटेन्स्टाइनसम्मका पर्यटक लुम्बिनी गएको वर्ष आएका थिए । नजिकको चीनदेखि सबैभन्दा टाढा रहेको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक र तीर्थयात्रीले लुम्बिनी भ्रमण गरे ।
चीनबाट १० हजार ७ सय ८९ पर्यटक आएका थिए भने नेपालबाट १७ हजार ७ सय ७९ किमि पर रहेको चिलीबाट ३२ पर्यटक आएका थिए । लडाकू समूह हमासको निशाना परेको इजरायलबाट १ सय ७७ र रुसी आक्रमणले तहसनहस भएको युक्रेनका ९५ पर्यटकले पनि शान्ति खोज्दै लुम्बिनी भ्रमण गरेका छन् ।
लुम्बिनीमा विदेशी पर्यटक र तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष २०२४ को तुलनामा गत वर्ष २६ प्रतिशतले पर्यटक आगमन बढेको छ । यस्ले पर्यटक आवागमनमा उत्साह थपिएपनि उनीहरूको लेन्थ अफ स्टे बढाउन नसक्दा लुम्बिनी एक दिने पर्यटन गन्तब्यको रुपमा विकास हुदा कसैले फाईदा पाउन सकेका छैनन् ।
२०२५ मा १ सय ६ देशका एक लाख ४० हजार ९ सय ६९ पर्यटकले भ्रमण गरेका थिए । २०२४ मा एक सय १० देशका एक लाख ११ हजार ४०३ पर्यटक आउदा २०२३ मा ८५ मुलुकका ७६ हजार २१० पर्यटक आएका थिए । २०२२ मा ९६ मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक यहा आएका थिए ।
२०२१ मा ६८ मुलुकका १ हजार १९७ विदेशी पर्यटक यहाँ आएका थिए । ४ वर्षदेखि विदेशी पर्यटक बढ्दै गए पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात् भएको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले बताए । पर्यटकको बसाइ लम्ब्याउने आध्यात्मिक वातावरण बनाउन नसक्दा अपार संभावना बोकेको लुम्बिनीलाई गहनाका रूपमा टुलुटुलु हेरेर बस्नुबाहेक केही नभएको उनले बताए ।
‘पर्यटकलाई आकर्षण दिएर बसाइ बढाउन नसक्दा स्थानीयदेखि राज्यले केही पाउन सकेको छैन,’ उनले भने, ‘केही घण्टाका लागि आउने पर्यटकले फोहर फालेर फर्कनु बाहेक केही नदिएर फर्कन्छन् ।’ स्थानीय, प्रदेशदेखि संघीय सरकार चुक्दा माल पाएर पनि चाल नपाएको जस्तो भएको पर्यटन ब्यवसायी विष्णु बस्नेतले बताए ।
इस्लामिक मुस्लिम मुलुक इरानबाट २७, पाकिस्तानबाट १२ र बंगलादेशबाट २ सय ९२ पर्यटक आएका थिए । द्वण्द्वग्रस्त सुडानदेखि सिरिया, टर्की र सोमालियासम्मका पर्यटक यहाँ आए । त्यस्तै घाना, वेनिन, क्रोएसिया, केन्या, मलावी, पनामा, साइप्रस, कतार, डोमनिकन र स्विटजरल्याण्ड लगायत १२ मुलकका एक/एक जना पर्यटक आएका थिए ।
सबैभन्दा बढी श्रीलंकाबाट ३२ हजार २ सय ८७ जना आएका थिए । त्यस्तै दोस्रोमा थाइल्याण्डबाट १९ हजार ८९१ र तेस्रोमा सैनिक शासनले कडा प्रतिबन्ध ब्यहोरिरहेको म्यनामारबाट १८ हजार ५ सय २८ पर्यटक आएका थिए । त्यस्तै चौथोमा चीनबाट १० हजार ८९ पर्यटक आएका थिए । २०२४ मा पर्यटक आगमन संख्यामा तेस्रो रहेको चीन २०२५ मा चौथोमा झरेको छ भने चौथोमा रहेको म्यान्मार तेस्रोमा उक्लिएको छ । २०२५ मा पाँचौंमा रहेको भियतनामबाट ८ हजार ६ सय १५ पर्यटक लुम्बिनी आएका छन् ।
भारतीय र नेपाली घटे
०७९ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि भारतीय आध्यात्मिक गुरु मुरारी बापुको आगमनपछि भारतीय पर्यटक बढेका थिए । २०२४ मा अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटक आएकामा २०२५ मा घटेका हुन् । २०२४ को तुलनामा २०२५ मा ७ प्रतिशत नेपाली र १० प्रतिशत भारतीय घटेका छन् । त्यस्तै २०२५ मा २ लाख ७० हजार ३ सय ८७ भारतीय आएका थिए भने २०२४ मा ३ लाख ८ सय ८९ जना आएका थिए । त्यसअघि २०२३ मा २ लाख ६६ हजार ५ सय १० र २०२२ मा २ लाख ३० हजार ४ सय १३ जना आएका थिए ।
२०२५ मा ७ लाख २ हजार ९ सय १० नेपाली पर्यटक आएका थिए भने २०२४ मा ७ लाख ५९ हजार ९ सय ९० जना आएका थिए । गत वर्ष ७ लाख ५९ हजार ९९० नेपाली पर्यटक आएका थिए । २०२३ मा गत वर्ष ६ लाख ५६ हजार २१८ जनाले भ्रमण गरे । २०२२ मा ६ लाख ४९ हजार ७८ जनाले भ्रमण गरेका थिए । जबकी २०२१ मा ४ लाख ६३ हजार ९६३ जनाले भ्रमण गरेका थिए ।
बाटोघाटो र आन्दोलनले घटेको अनुमान
बुटवल-नारायणघाट बाटो र मुलुकका अन्य ठाउँका सडक संजालको समस्याले नेपाली र भारतीय पर्यटक घटेको बताइएको छ । त्यस्तै लुम्बिनीभित्र पनि कहिले कर्मचारी, निर्माण व्यवसायी र माला पसलेले बन्द हड्ताल, आन्दोलन गर्दा समस्या थपिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।
‘शान्ति खोज्न आएका ठाउँमा अशान्ति भयो,’ उनले भने, ‘यसले स्वदेशी र विदेशी पर्यटक प्रभावित बने । यस्तो शान्ति स्थलमा बन्द-हडताल निषेध नगरेसम्म समस्या आइरहन्छ ।’
भारतीय प्रधानमन्त्री मोदी र आध्यात्मिक गुरु मुरारी बापुको भ्रमणले लुम्बिनीको प्रचार राम्ररी हुँदा भारतीय पर्यटक बढेकामा अहिले लुम्बिनीको आन्तरिक वातावरण बिग्रिएर समस्या आएको लुम्बिनी विकास कोषका पर्थ प्रदर्शक अधिकृत दिलीपसिंह राईले बताए । ‘भारतीयहरू मोदी र बापु दुवैप्रति निक्कै आस्था र विश्वास राख्छन् । त्यसैले उनी जाने घुम्ने ठाउँ पछ्याउँदै पुग्न भारतीय लालायित हुन्छन्,’ उनले भने, ‘तर, लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रम नहुँदा एकै दिनमा फर्कने पर्यटक बढे । यो हाम्रो समस्या हो । यहाँ पर्यटकको बसाइ लम्ब्याउने आध्यात्मिक पर्यटनसँगै चरा पर्यटन, भिलेज टूर, संस्कृति र पर्यापर्यटनको प्रचुर सम्भावना छ । त्यसको प्रचारप्रसार गर्नै सकेका छैनौं ।’
बुद्ध जन्मस्थल लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तव्य हो । लुम्बिनी क्षेत्रमा घुम्दै गर्दा विभिन्न बौद्ध मुलुक श्रीलंका, म्यानमार र थाइल्यान्ड पुगेको जस्तो हुन्छ । कम्बोडिया र जापान पुगेको जस्तो भान हुन्छ । त्यसैले विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार हेर्न स्वदेशी विदेशी पर्यटकको रोजाइमा लुम्बिनी पर्ने गरेको पर्यटन व्यवसायीको अनुभव छ ।
‘पर्यटक धेरै आएको राम्रो हो,’ पर्यटन व्यवसायी टीका कट्टेलले भनिन्, ‘तर उनीहरूको बसाइ अवधि नबढ्दा समस्या भइरहेको छ ।’ टिकाउन सकिएन भने अंकमा रमाउनु मात्र राम्रो नहुने उनले सुनाइन् । ‘नेपाली र भारतीय घुम्न रुचि राख्छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यसैले पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउन अब ढिलो गर्नु हुँदैन,’ उनले भनिन् ।
लुम्बिनीमा पर्यटकाको लेन्थ अफ स्टे बढाउन यससँग सम्बन्धित कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धस्थललाई जोड्नुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए । ‘पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । सबैले सरकारको मात्र मुख ताक्दा समस्या भयो,’ उनले भने, ‘यो निजी क्षेत्रको पनि काम हो । सरकारले वातावरण बनाउने र सुरक्षा दिने काम गर्नु पर्छ । स्थानीय सरकार र निजी क्षेत्र मिलेर हातेमालो गरी अघि बढेर फाइदा लिनु पर्छ । यसो गर्दा स्थानीयदेखि मुलुकलाई नै फाइदा पुग्छ ।’








