पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो।
मृतकको ठेगाना भने खुलेको छैन। मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन। गाडीमा अरु पनि सवार थिए÷थिएन् भन्ने पनि खुल्न सकेको छैन। घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको छ।
नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४ः०० बजे दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो । बिहानै अँध्यारो भएकाले अनुसन्धानमा कठिनाइ भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए।









