लुम्बिनी प्रदेशमा आधा दर्जनभन्दा बढी नेताहरू अन्तिम समयमा दल परिवर्तन गरेर चुनावी मैदानमा होमिएका छन्।
कांग्रेस, एमाले, नेकपा, रास्वपा लगायत दलका नेताहरू दल परिवर्तन गरी उम्मेदवार बनेका हुन्।
यस्तै, पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गन्जारी) ले पनि पार्टी परिवर्तन गरी रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका छन्। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचित भएका थिए। हाल उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष थिए। तर जनमत पार्टीबाट टिकट पाउने भएपछि उनले पनि मनोनयन दर्ताको दुई दिनअघि मात्रै पार्टी परिवर्तन गरेका हुन्।
दल बदल गर्ने नेताहरूको संख्या यसपटक अन्य जिल्लाभन्दा कपिलवस्तुमा बढी देखिएको छ। कांग्रेसका वीरेन्द्र कनोडिया एमाले प्रवेश गरेको भोलिपल्टै टिकट लिएर कपिलवस्तु क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका छन्। सोही क्षेत्रमा राप्रपाबाट रास्वपा प्रवेश गरेका प्रकाश रजौरिया पनि उम्मेदवार बनेका छन्।
कपिलवस्तु क्षेत्र नम्बर २ पनि रोचक देखिएको छ। एमाले छाडेका पूर्व मन्त्री बृजेश गुप्ता नेकपाबाट उम्मेदवार बनेका छन्। गुप्ताले केही हप्ता अघि एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए।
उनी कपिलवस्तुबाट चार पटक सांसद भइसकेका नेता हुन्। सोही क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा यसअघि प्रदेशसभा कांग्रेसबाट उम्मेदवार बनेका विक्रमसिंह थापा पनि अन्तिम समयमा रास्वपाबाट उम्मेदवार बनेका छन्। नेपाल प्रहरीका पूर्व एसएसपीसमेत रहेका थापा पार्टीले टिकट नदिएपछि मनोनयन दर्ता हुनुभन्दा दुई दिनअघि रास्वपा प्रवेश गरेका थिए।
नवलपरासी–१ मा नेपाली कांग्रेसका नेता विनोद चौधरीले टिकट पाएपछि कांग्रेस प्रदेश महामन्त्री छाडेका बर्दघाट निवासी विक्रम खनाल रास्वपाबाट उम्मेदवार बनेका छन्। उनी अन्तिम समयमा कांग्रेस परित्याग गरी रास्वपाबाट मैदानमा उत्रिएका हुन्।
बाँके–२ मा अशोक राई नेतृत्वको जसपाका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन्। राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार हुँदा राप्रपाका नेता डा. धवल शमशेर राणासँग पराजित भएका थिए। बाँकेबाट पटक–पटक निर्वाचित भई मन्त्रीसमेत बनेका राईले अन्तिम समयमा एमालेबाट टिकट लिएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
दल त्यागेर अर्को दलबाट उम्मेदवार बन्ने क्रम पुराना दलमा मात्र नभई नयाँ दलहरूमा पनि देखिएको छ। रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपा त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दर्ता गरिएको छ। रास्वपा नेता डा. श्रीबहादुर कुँवरले पार्टी परित्याग गरी प्रलोपाबाट उम्मेदवारी दिएका हुन्।
रुपन्देहीको देवदह नगरपालिका–२ निवासी डा. कुँवरले अमेरिकास्थित केनेडी विश्वविद्यालयबाट सार्वजनिक नेतृत्व तथा मानव संशाधन व्यवस्थापनमा विद्यावारिधि गरेका छन्।
अधिवक्तासमेत रहेका उनले भैरहवा नमुना क्याम्पसमा लामो समय प्राध्यापन गरेका छन्।








