बुधबार बालेनको डेरा परिसरमा उनलाई हेर्न, भेट्न र फोटो खिच्नहरूको निकै भिडभाड देखिन्थ्यो।
मत माग्न नेताहरू मतदाताका दैलोमा पुग्ने चलनको ठिक उल्टो दृश्य देखिएपछि दमकमा बालेन शैलीको चर्चा चल्न थालेको छ।
मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन दमक-५ स्थित लक्की सिटौलाको घरमा सम्पर्क कार्यालय खोलेर बसेका छन्।
उनले त्यहीँ बुधबार दिनभर शुभचिन्तकहरूसँग भेट/संवाद गरे।
बालेनको सचिवालयले भने बुधबार बिहान घरदैलो भनेर केही तस्बिर सार्वजनिक गरेको थियो।
त्यसपछि बालेनले दिनभर आफ्नै डेरामा आएका समर्थक तथा शुभचिन्तकसँग भेट गरे।
बुधबार बिहानदेखि साँझसम्म झन्डै ३ हजार मानिस उनलाई भेट्न गएको सुरक्षा स्रोत बताउँछ।
बालेनकहाँ गएकाहरू उनको कुरा सुन्न भन्दा पनि आफ्नै कुरा राखेर फर्किएका थिए।
भेटघाटका क्रममा बालेनले आफ्ना चुनावी एजेन्डा र गतिविधिबारे कुरै राखेनन्।