लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला यसपटकको निर्वाचनमा होमिएका छन्।
धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्।
उम्मेदवारी दर्तासँगै आक्रामक रूपमा घरदैलो अभियानमा जुटेका धमलाले रौतहटको अवस्था देखेर आफू निकै भावुक भएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा धमला मतदातासँग मत माग्दै गर्दा भक्कानिएर रोएको देखिन्छ।
घरदैलोका क्रममा स्थानीयको दयनीय अवस्था देखेर आँसु झार्दै धमलाले आफू अब टुरिस्ट उम्मेदवार नबन्ने घोषणा गरे।
उनले भने, ‘रौतहटको चुलो-चुलोमा समस्या छ, यहाँका जनता धेरै पीडित छन्। जनताले खान पाएका छैनन्, बस्न पाएका छैनन्, उपचार पाएका छैनन्। त्यसैले मैले रौतहट रोजेको हुँ।’
धादिङ र काठमाडौं छोडेर रौतहट झर्नुको कारण खुलाउँदै उनले थपे, ‘मान्छेहरू सोध्छन् धादिङबाट, काठमाडौंबाट किन रौतहट झर्यो भनेर ? यहाँको पीडा हेर्नुस् त, यो देखेर म आएको हुँ।’
विगतमा जितेर जाने नेताहरूले रौतहटको विकासमा सिन्को नभाँचेको आरोप लगाउँदै धमलाले आफूले रौतहटमै घरजम गर्ने सङ्कल्प गरेको बताए।
उनले भने, ‘मैले एउटा सङ्कल्प गरेको छु, रौतहट जिल्लालाई म बनाउँछु। मैले सबै कुरा छोडेर अब रौतहटमै बस्ने निर्णय गरेको छु। म अब यहीँ घरजम गर्नेछु, म यहीँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु र तपाईंहरूसँगै बस्छु।’
यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको भन्दै उनले यसलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
धमलाले आफ्नो चुनावी प्रचारप्रसारलाई निकै रोचक बनाएका छन्। उनी कहिले जेरी पसलमा पुगेर आफैँ जेरी पकाउँछन् त कहिले काठ मिलमा पुगेर आरा चलाउँछन्।
खेतबारीमा काम गरिरहेका किसानसँग पुगेर कोदालो खन्ने, दाउरा बोक्ने र साइकल चलाउने जस्ता कार्यहरू गरेर उनले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन्।
भाइरल भिडियोमा उनले एक विपन्न स्थानीयलाई अँगालो हाल्दै उनको बासस्थानको टुङ्गो नभएको र परिवार खेतमा बस्नुपरेको भन्दै भावुक भएर आश्वासन दिइरहेको देखिन्छ।
धमला आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।









