बुटवल ।
२०६४ सालदेखि रुपन्देहीमा लगातार जित निकाल्दै आएका नेकपा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल अहिले नयाँ र युवा उम्मेदवारहरूबाट घेरिएका छन् । विभिन्न क्षेत्रमा दक्खल राख्ने युवा उम्मेदवारहरूलाई अन्य पार्टीले खडा गरेपछि पौडेललाई चुनौती थपिएको छ । युवा, अधिवक्ता, चिकित्सकदेखि सफल उद्योगीहरूसमेत मैदानमा रहेकाले अहिले यहाँ चारपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ जाने तयारी गरेका पूर्वअर्थमन्त्री पौडेलले पाल्पा जाँदा पार्टीभित्रको असन्तुष्टि र रुपन्देहीमा ‘बलिया’ उम्मेदवार देखेनन्, अन्ततः पुरानै किल्लामा फर्किएका उम्मेदवारी दर्ता गरेर भेटघाटमा हिँडेका कार्यकर्ताहरू बताउँछन् ।
२०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका पौडेललाई त्यसबेला नेपाली का्रंग्रेसका नेता सूर्य प्रसाद प्रधानले पराजित गरेका थिए, त्यसपछि २०६४ सालयता भने हरेका निर्वाचनमा उनले विजयको स्वाद चाखिरहेका छन् ।
२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलसँग कडा प्रतिस्पर्धा भएपछि पौडेल यो क्षेत्रमा संशकित बनेका एमालेका कार्यकर्ताहरूको बुझाइ छ । रास्वपाका गणेशले २५ हजार ७८१ मत पाएका थिए भने विष्णुले २७ हजार १४७ मत प्राप्त गरेका थिए । लगातार जित्दै आएको क्षेत्रमा करिब १२ सय मत मात्रै अन्तर पर्नु विष्णुका लागि निराशाजनक थियो । यो विषय समीक्षा गर्नुपर्ने बुटवलमा एमालेको एक सार्वजनिक कार्यक्रममा पौडेल आफैँले भनेका थिए ।