दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताएका छन्।
वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले गुणस्तरीय शिक्षामार्फत मात्र सीपयुक्त, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने बताएका हुन्।
मुख्यमन्त्री आचार्यले वसन्तपञ्चमी ज्ञान, चेतना, विवेक र सुसंस्कारको प्रतीक भएको उल्लेख गर्दै यस दिन बालबालिकाले अक्षरारम्भ गर्ने, अध्ययन सुरु गर्ने र ज्ञान यात्रामा पहिलो पाइला चाल्ने परम्पराले शिक्षाको महत्व र संस्कारलाई समाजमा गहिरोसँग स्थापित गरेको बताए।
शिक्षा जीवनपर्यन्त चल्ने निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै उनले यसले व्यक्तिको व्यक्तित्व विकास, सामाजिक चेतना र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। गुणस्तरीय र दिगो सिकाइका लागि परिवार, विद्यालय, समुदाय, शैक्षिक संस्था तथा राज्यको साझा भूमिका अपरिहार्य रहेकोमा उनले जोड दिए।
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले शिक्षाको विकास, पहुँच विस्तार र शैक्षिक गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राख्दै नीति, योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ। प्रदेश साक्षर घोषणा भइसकेको अवस्थामा अब साक्षरतामै सीमित नरही सीप, जिम्मेवारी र प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनतर्फ सरकार केन्द्रित रहेको उनले जानकारी दिए।
प्रदेशलाई शिक्षित, सभ्य र समुन्नत बनाउन शिक्षकको प्रतिबद्धता, विद्यार्थीको मेहनत, अभिभावकको सहयोग र समाजको सकारात्मक भूमिकाले निर्णायक योगदान पुर्याउने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गरे। शिक्षालाई व्यवहारसँग जोड्दै नैतिकता, अनुशासन र मानवीय मूल्यको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।








