वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार तथा युवा नेता आशिष शर्माले युवाहरूको राय, सुझाव र समस्याहरू संकलन गर्ने उद्देश्यसहित विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । युवाहरूलाई प्रत्यक्ष संवादमा जोड्दै विकासका प्राथमिकता पहिचान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको शर्माले बताएका छन् ।
कार्यक्रम भोलि शनिबार दिउँसो २ बजे बाणगंगा नगरपालिका–१, बैरिया स्थित मायादेवी रिसोर्टमा हुने जनाइएको छ । उक्त कार्यक्रममा बाणगंगा नगरपालिका क्षेत्रका युवाहरूको सहभागितामा खुला छलफल, सुझाव आदान–प्रदान तथा स्थानीय समस्या पहिचान गर्ने कार्य गरिनेछ ।
उम्मेदवार शर्माका अनुसार पार्टीगत राजनीतिभन्दा माथि उठेर विकास र समृद्धिको साझा एजेन्डामा युवाहरूलाई एकताबद्ध गर्न कार्यक्रम केन्द्रित हुनेछ । “हामीलाई भाषणभन्दा बढी युवाहरूका वास्तविक आवश्यकता, उनीहरूको सपना र समस्याहरू बुझ्नुपर्छ । त्यसैले खुला रूपमा सबै युवाहरूको सुझाव संकलन गरेर क्षेत्र विकासको आधार तयार पार्न लागेका हौं,” शर्माले भने ।
उनका अनुसार शिक्षा, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार, खेलकुद, उद्यमशीलता, युवा पलायन, लागुऔषध नियन्त्रण, सीपमूलक तालिम र स्थानीय उत्पादनको बजारीकरणजस्ता विषयमा युवाहरूको धारणा र प्राथमिकता संकलन गरिनेछ । युवाहरूले उठाएका विषयहरूलाई आगामी दिनमा नीति तथा कार्ययोजनामा समेट्दै व्यावहारिक पहल गरिने प्रतिबद्धता शर्माले जनाएका छन् ।
कार्यक्रम परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले आयोजना गर्न लागिएको बताइएको छ । राजनीतिक दलका ठूला सभा र भाषणमुखी कार्यक्रमभन्दा पनि युवाहरूसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका कुरा सुन्ने र समाधान खोज्ने शैलीलाई प्राथमिकता दिइएको छ ।
युवा टीआर पाण्डेले यो कार्यक्रमले युवाहरूलाई थप उत्साहित बनाएको बताए । “युवाहरू समाजको मेरुदण्ड हुन् । उनीहरूको नवीन सोच, ऊर्जा र सिर्जनशीलतालाई समेटेर मात्र समृद्ध कपिलवस्तु निर्माण सम्भव छ,” उनले भने ।
पाण्डेले स्थानीय नेतृत्वले युवाका आवाजलाई सुन्ने वातावरण सिर्जना गर्नुपर्ने र यस्तो कार्यक्रमले युवाहरूलाई नजिकबाट बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
शर्माले कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गतका अन्य पालिकाहरूमा पनि चरणबद्ध रूपमा सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन् । “यो एउटा सुरुवात मात्र हो । हामी सबै पालिकामा पुगेर युवाहरूको आवाज सुन्छौं र उनीहरूले देखाएका प्राथमिकतालाई विकासको मार्गचित्रमा समेट्छौं,” शर्माले भने ।
स्थानीय युवामाझ आशिष शर्मा लोकप्रिय छन् ।
युवाहरूले उनीलाई नयाँ सोच र फरक राजनीतिक शैली बोकेको उम्मेदवारका रूपमा हेर्ने गरेको स्थानीयको भनाइ छ । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले युवाहरूको सहभागिता र सुझावलाई केन्द्रमा राखेर अभियानलाई अघि बढाउने संकेत गरेका छन् ।
कार्यक्रममा सहभागिता जनाउन इच्छुक युवाहरूलाई समयमै उपस्थित भई आफ्ना समस्या, सुझाव र अपेक्षा खुला रूपमा राख्न आयोजकले आग्रह गरेको छ ।








