काठमाडौं ।
देश यतिबेला आमनिर्वाचनको रापतापमा छ। २१ फागुनमा हुने निर्वाचननका लागि ६ माघमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित भइसकेका छन्।
निरन्तरतामा क्रमभंगता खोज्दै भएको जेनजी विद्रोहपछि हुन लागेको निर्वाचनमा राजनीतिक पृष्ठभूमिका मात्रै होइन, चुनावको मुखैमा धार बदलेर राजनीतिमा हाम फालेका भिन्न पृष्ठभूमिका व्यक्तिहरू पनि छन्।
कसैले दल खोलेर र रोजेर त कोही स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। उनीहरू सबै यतिबेला आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरदैलोमा व्यस्त छन्।
प्रतिस्पर्धामा उत्रिसकेपछि जित हात पार्ने प्रयास जोकोही गर्नु स्वाभाविक भए पनि आसन्न चुनावी मैदानमा होमिएका कतिपय उम्मेदवारले भने मतदाताको मन जित्न अस्वाभाविक र अनौठा चटक नै देखाएका छन्।
भोट माग्ने यस्तो शैलीका कारण यतिबेला सर्वाधिक चर्चामा रहेका उम्मेदवार हुन् निवर्तमान पत्रकार ऋषि धमला। सञ्चारकर्ममा रहँदै अन्टसन्ट प्रश्न सोधेर अतिथिमाथि हमला गरेर सधैँ चर्चामै रहिरन रुचाउने उनले राजनीतिमा पनि उही ‘भाइरल हुने शैली’ अपनाएका देखिन्छन्।
५ माघमा चुनाव लड्ने घोषणा गरेका धमला रौतहट ४ मा आम जनता पार्टीबाट उम्मेदवार बनेका छन्। घरदैलोका क्रममा उनले किसानका बारीमा पुगेर उखु बोक्ने, काठ काट्ने, ट्याक्टर र साइकल चलाउनेदेखि जेरी बनाउनसम्म भ्याएका छन्।
स्थानीय भाषा बोल्दै आफूलाई पनि मतदाताका पीडाले पोलेको देखाउन रुञ्चे स्वर लाउनसमेत उनी पछि परेका छैनन्।
आफ्नै पत्नी एलिजा गौतम उपाध्यक्ष रहेको आम जनता पार्टीबाट धमला उम्मेदवार बनेका हुन्। उनी मनोनयनका दिनदेखि नै चुनावै जितेजसरी अबिर र फूलमालाले सजिएर घरदैलामा हिँड्ने गरेका छन्।
मतदाताको मन जित्न अनौठा र चटके शैली अपनाउने धमला एकला उम्मेदवार होइनन्। आफूलाई पृथक् दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार पनि त्यस्तै शैली अपनाएर मतदाताको मन जित्ने प्रयत्नमा देखिन्छन्।
जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोप लागेका सुदन गुरुङले चटके शैली प्रदर्शन गरेरै भोट मागिरहेका छन्। रवि लामिछाने र बालेन मिलाएर थप चर्चामा आएका उनले रास्वपाबाट गोरखा १ मा उम्मेदवारी दिएका छन्।
घरदैलोमा व्यस्त रहेका गुरुङले मतदाताका बोराका भारी बोकिदिनेदेखि स्थानीय भेषभूषामा सजिएर नाचगान गर्नेसम्मका चर्तिकला देखाउँदै आएका छन्।
भोट माग्न चटके शैली अपनाउने उम्मेदवारमै पर्छन् रास्वपाका अर्का नेता अच्युतम लामिछाने। रास्वपाका बागमती प्रदेश सभापतिसमत रहेका उनी नुवाकोट २ बाट उम्मेदवार बनेका छन्।
लामिछाने अनेक नाता सम्बन्ध गाँस्दै बाटोमा भेटिने मतदाताका खुट्टै ढोग्न पुग्छन्। छोरा–नातीको साइनो लगाउँदै उनी निधारले मतदाताका पाउ नै छुन पछि परेका छैनन्।
भोट माग्ने शैलीकै चर्चामा रहेका अर्का उम्मेदवार हुन्– अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका महावीर पुन। चुनाव गराउने म्याण्डेट सहित गठन भएको सरकारमा मन्त्री बनेका उनी राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन्।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुनको भोट माग्ने शैली अझ थप पृथक् छ। उनी ‘आफूलाई भोट दिन’ भन्दा पनि ‘मन परेकालाई भोट दिनुहोला है’ भन्दै घरदैलोमा हिँडिरहेका छन्।
पुनले घरदैलो गर्दै आफ्नो आत्मकथाको किताब पनि बेचिरहेका छन्। किताब बेचेर आउने रकम उनले चुनावमा नभई वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्चने पनि बताउँदै आएका छन्।
यसअघि झण्डै साढे दुई लाख आत्मकथाको किताब नै बेचेर उक्त कृषि औजार कारखानाका लागि १२ करोड रुपैयाँ संकलन गरेका थिए। अहिले चुनावी प्रचारसँगै किताब बेच्ने कार्यलाई पनि निरन्तरता दिँदा उनी थप चासो र चर्चाको केन्द्रमा पुगेका हुन्।
आफू सुरक्षित हुन प्रत्येकपटक निर्वाचन क्षेत्र परिवर्तन गरिरहने प्रचण्ड यसपटक रुकुम पूर्व पुगेका छन्, जुन नेकपाको बलियो जनमत भएको क्षेत्र हो।
अहिले उक्त निर्वाचन क्षेत्रमै केन्द्रित भएका प्रचण्ड स्थानीय सांस्कृतिक कार्यक्रममा रैथाने भेष बदलेर नाचगानमा सरिक हुनेदेखि खल्तीमा भुटेको मकै हालेर जनयुद्धका दिन स्मरण गर्ने ठाउँमा पुगेका छन्।
राजाको नाममा राजनीति गर्दै आएको राप्रपाका उम्मेदवारहरू पनि चटके शैली प्रदर्शन गर्नमा कम छैनन्। आफ्नो चुनाव चिह्न हलो ब्यानरमा मात्र नभई खेत जोत्न हिँडेको किसानले झैँ काँधमै हालेर भोट माग्न हिँडिरहेका छन्।







