रुपन्देही । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५ प्रदेश सांसद र ८ स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका छैनन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकेर मतगणना सुरु भएको छ ।
निर्वाचनमा २ सय ८६ मत खसेको छ । जसमा प्रदेशसभा सदस्यतर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ ५ र स्थानीय तहतर्फ ८ जना मतदानमा अनुपस्थित भएका छन् ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेका हुन् ।
मतगणना सुरु भएको र आज नै नतिजा घोषणा गर्ने निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार छन् । एमालेबाट रामकुमारी झाँक्री, कांग्रेसबाट अपाङ्ग कोटामा वासुदेव घिमिरे र अन्य कोटामा चन्द्र बहादुर केसीले उम्मेदवार छन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा उम्मेदवार बनाएको छ । महिला कोटाबाट दुर्गा कुमारी भण्डारी, अपाङ्गमा सर्जन बिक र अन्यमा बृहस्पति अधिकारीले उम्मेदवार छन् ।
राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य कोटामा उम्मेदवार छन् । महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२ प्युठानका बोम बहादुर खत्रीले प्रतिस्पर्धा गर्दैछन् ।अहिले मतगणनाको काम सुरु भइसकेको छ ।









