गृहपृष्ठ Featured टी-२० विश्वकप : नेपालका यस्ता छन् प्रतिद्वन्द्वी

टी-२० विश्वकप : नेपालका यस्ता छन् प्रतिद्वन्द्वी

काठमाडौं ।

नेपालसमेत सहभागी टी-२० विश्वकप २०२६ आउँदो २४ गते भारत र श्रीलंकामा सुरु हुँदैछ । नेपालले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्न लागेको हो ।

नेपालले अघिल्लो विश्वकपमा कुनै जित निकाल्न नसके पनि आफ्नो छाप छोड्न सफल भएको थियो । दक्षिण अफ्रिका, बंगलादेशजस्ता टेस्ट टीमलाई नेपालले कडा टक्कर दियो । दक्षिण अफ्रिकालाई त हारको संघारमै पुर्‍याएको थियो, अन्तिममा आत्मविश्वास र अनुभवको कमिले गर्दा जितबाट भने वञ्चित हुनुपर्‍यो।

यसपटक नेपालको समूहमा ईंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटली रहेका छन् । यी मध्ये ईंग्ल्यान्ड र वेस्ट इन्डिज टेस्ट राष्ट्र हुन् । यसअघि बंगलादेश पनि नेपालकै समूहमा थियो, तर भारत नआउने अडानपछि आइसीसीले बंगलादेशलाई प्रतियोगिताबाटै हटाएर स्कटल्यान्डलाई भित्र्याएको छ । फलतः नेपालले थप एक टेस्ट राष्ट्रसँग भिड्ने मौका गुमायो ।

टी-२० विश्वकपमा २० वटा राष्ट्रहरुलाई ४ समूहमा बाँडेर खेलाईंनेछ । प्रत्येक समूहमा ५ टीमहरु रहेका छन् । समूहका शीर्ष दुई टीमहरू सुपर ८ मा प्रवेश गर्नेछन् । नेपालले पहिलो पटक सुपर ८ मा पुगेर इतिहास रच्ने लक्ष्य राखेको छ ।

कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ?

ईंग्ल्यान्ड

ईंग्ल्यान्ड टी-२० क्रिकेटको पावरहाउस हो, जसले दुईपटक उपाधि उचालेको छ । सन् २०१० र २०२२ को टी-२० विश्वकपमा ईंग्ल्यान्ड च्याम्प्यिन बनेको थियो ।

ईंग्ल्यान्ड अहिले युवा कप्तान ह्यारी ब्रुकको नेतृत्वमा छ । उनी एक बिष्फोटक ब्याटर हुन् । टिममा जोस बटलर, फिल साल्ट, बेन डकेट, विल ज्याक्स जस्ता आगो ओकल्ने ब्याटरहरू छन् । बलिङमा जोफ्रा आर्चरको गति र आदिल राशिदको स्पिन विपक्षी टीमहरुलाई भारी पर्न सक्छ। यस्तै, साम करन बलिङ र ब्याटिङ दुवैमा चम्किन सक्छन् ।

स्क्वाडमा रेहान अहमद, टम ब्यान्टन, जेकब बेथेल, लियाम डसन, जेमी ओभर्टन, जोश टङ, लुक वुडसुमेत छन् । उपमहाद्वीपका पिचहरूमा ईंग्ल्यान्डसँग प्रशस्त अनुभव छ र स्पिन झेल्न ब्याटरहरु अभ्यस्त छन् । जोस बटलर र कप्तान ह्यारी ब्रुक विपक्षी टीमका लागि सबैभन्दा ठूला थ्रेट हुन् ।

सन् २०२२ मा पाकिस्तानलाई फाइनलमा हराएर उपाधि उचालेको ईंग्ल्यान्ड अहिले पनि दावेदारमध्येको टीम हो । टेस्टमा पनि टी-२० शैलीमा खेल्ने ईंग्ल्यान्डसँग भिड्नु नेपालका लागि पक्कै सहज हुने छैन ।

नेपालसँग तुलना गर्दा इङ्ल्यान्डको अनुभव, स्रोत र र्‍याङ्किङ धेरै माथि छ । उनीहरूको स्क्वाडमा अनुभव र प्रतिभाको उत्कृष्ट मिश्रण भेटिन्छ। हालका तयारी सिरिजहरूमा उपमहाद्वीपमा अभ्यास गरेका उनीहरू स्पिन र तीव्र गतिविरुद्ध तयार देखिन्छन् । ग्रुप सीमा नेपालले पहिलो खेल नै ईंग्ल्यान्डविरुद्ध फेब्रुअरी ८ मा खेल्दैछ । नेपालले यदि ईंग्ल्यान्डलाई हराउन सक्यो भने त्यो टी-२० विश्वकपकै ईतिहासमा एउटा ठूलो उलटफेर नतिजा मानिनेछ ।

वेस्ट इन्डिज

वेस्ट इन्डिज पनि टी-२० क्रिकेटको शक्तिशाली टीम मानिन्छ, जसले सन् २०१२ र २०१६ मा विश्वकप जितेको थियो । सन् २०२४ मा भने समूह चरणबाटै बहिरियो ।

दुई दिनअघि मात्रै भएको टी-२० म्यामा वेस्ट इन्डिजले साउथ अफ्रिकालाई ९ विकेटले हराएर आफ्नो क्षमताको छनक दिएको थियो । यद्यपि, वेस्ट इन्डिजको प्रदर्शनमा भने अक्सर एकरुपता हुँदैन । उनीहरुले आफ्नो बलियो दिनमा जुनसुकै टीमलाई हराउने क्षमता राख्छन् ।

वेस्ट इन्डिजको ब्याटिङ शक्ति भनेकै पावर हिटिङ हो । उनीहरु ठूला ठूला छक्का लगाउन सक्छन् । यद्यपि, वेस्ट इन्डियन ब्याटरहरु स्पिनरविरुद्ध कमजोर मानिन्छन् । नेपालको स्पिन आक्रमण स्तरीय भएको हुँदा वेस्ट इन्डिजलाई स्तब्ध पार्ने मौका छ । नेपालले गत वर्ष वेस्ट इन्डिजविरुद्ध तीन म्याचको टी-२० सिरिज खेलेको थियो र २-१ को सनसनी जित निकालेको थियो । यद्यपि, नेपालसँग खेलेको वेस्ट इन्डिज टीममा पहिलो रोजाइका थुप्रै खेलाडी अनुपस्थित थिए ।

कप्तान शाई होप नै टिमका सबैभन्दा भरपर्दा ब्याटर हुन् । उनी फास्ट र स्पिन दुवै बलमा राम्रो खेल्न सक्छन् । टिममा शिमरन हेटमायर, रोभमन पावेल, रोमारियो शेफर्ड, जेसन होल्डर जस्ता पावर हिटर र अलराउन्डरहरू छन्, जसले डेथ ओभरहरूमा खेल उल्ट्याउने क्षमता राख्छन् । जोन्सन चाल्र्स र रोस्टन चेस पनि अनुभवि ब्याटर हुन् ।

वेस्ट इन्डिजको बलिङ त्यति धारिलो मानिँदैन । टीममा फास्ट बलरका रुपमा जेसन होल्डर म्याथ्यू फोर्ड, सामर जोसेफ, जेडन सिल्स रहेका छन् भने स्पिनरमा अकिल होसने गुडाकेश मोती रहेका छन् । उपमहाद्वीपका पिचहरूमा वेस्ट इन्डिजका खेलाडीहरुको अनुभव अलि कम छ, जसको फाइदा नेपालले उठाउन सक्छ । नेपालसँग तुलना गर्दा वेस्ट इन्डिजको फायरपावर, इतिहास र र्‍याङ्किङ बलियो छ । ग्रुप ‘सी’ मा वेस्ट इन्डिजविरुद्ध नेपालको खेल फेब्रुअरी १५ मा छ ।

स्कटल्यान्ड

एसोसिएट राष्ट्रहरूमा उत्कृष्ट टी-२० टीम हो, स्कटल्यान्ड । यसपटक भाग्यवस टी-२० विश्वकप खेल्ने मौका पाएकोउ छ । बङ्गलादेशलाई विश्वकपबाट हटाइएपछि स्कटल्यान्डको भाग्य चम्केके हो ।

स्कटल्यान्डले यसअघि ६ पटक टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२१ मा भएको विश्वकपमा स्कटल्यान्ड पहिलोपटक सुपर १२ पुगेको थियो । सन् २०२४ मा इङ्ल्यान्ड तथा अस्ट्रेलियालाई चुनौती दिएको थियो ।

स्कटल्यान्डको बलिङ र ब्याटिङ सन्तुलित छ । नेपाल र स्कटल्यान्ड लगभग एकै स्तरका टीम हुन् । पहिले स्कटल्यान्डलाई नेपालभन्दा बलियो मानिने गरे पनि पछिल्लो समयमा नेपालले धेरै सुधार गरिसकेको छ ।

गत जूनमा नेपालले स्कटल्यान्डमा त्रिदेशीय टी-२० सिरिजि खेलेको थियो । नेदरल्यान्ड्ससमेत सहभागी उक्त सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध एक जित निकाल्यो भने एक हार व्यहोर्‍यो । त्यही बेला भएको लिग २ अन्तरगतको त्रिदेशीय सिरिजमा पनि नेपालले स्कटल्यान्डविरुद्ध १-१ कै नतिजा हासिल गरेको थियो ।

स्कटल्यान्डको टीममा कप्तान रिची बेरिङटनसहित टम ब्रुस, म्याथ्यू क्रस, ब्रान्डन म्याकमुलन, जर्ज मन्सी, मार्क वाट, सफ्यान शरिफ, ब्राडली व्हील जस्ता खेलाडीहरू छन् । स्कटल्यान्डका केही खेलाडीले नेपाल प्रिमियर लिगमा पनि भाग लिएको हुँदा नेपाली बलरहरुसँग खेल्न अभ्यस्त छन् । यो भने नेपालका लागि घाटा हो ।

स्कटल्यान्डविरुद्ध नेपाल जितको लक्ष्यका साथ खेल्नेछ । नेपालको स्पिन र स्कटल्यान्डको फास्ट बलिङ बलिया छन् । स्कटिस फास्ट बलरहरुलाई सुरुवाति ओभरहरुमा झेल्न सके नेपालले राम्रो स्कोर बनाउन सक्छ । ग्रुप सीमा स्कटल्यान्ड विरुद्ध नेपालको खेल फेब्रुअरी १७ मा छ ।

इटली

इटली समूह सीमा सबैभन्दा कमजोर मानिएको टीम हो । पहिलोपटक टी-२० विश्वकप खेल्न गइरहेको इटलीमाथि कुनै पनि खालको दवाव छैन । विश्वकपमा स्थान नै उसका लागि ठूलो जित थियो ।

यद्यपि, विश्वकपमा स्थान बनाउनु भनेकै टिम कमजोर छैन भन्ने प्रमाण हो । त्यसैले नेपालले इटलीविरुद्ध ओभर कन्फिडेन्स राख्न सक्दैन । विश्व वरियतामा २९ औं स्थानमा भए पनि ईटलीसँग केही राम्रा खेलाडीहरु छन्, जसले नेपाललाई अत्याउन सक्छन् । युरोप क्वालिफायरमा दोस्रो भएको इटलीले आयरल्यान्ड र स्कटल्यान्डसमेत हराएर आफ्नो सम्भावना प्रमाणित गरेको थियो ।

युवा ऊर्जा र अपसेट क्षमता उनीहरूको मुख्य विशेषता हो । कप्तान वेन म्याडसेनसँगै मार्कस क्याम्पोपियानो, जियान पिएरो मिड, जस्टिन मोस्का, ह्यारी मानेन्टी, जेजे स्मुट्स, ग्रान्ट स्टुअर्ट आदि टिमका प्रमुख खेलाडीहरु हुन्। जैन अली, अली हसन, क्रिशन जोर्ज, एन्थोनी मोस्का, स्येद नकभी, बेन्जामिन मानेन्टी, जसप्रीत सिंह, थोमस ड्राका जस्ता खेलाडीले अलराउन्ड क्षमता थप्छन् । उपमहाद्वीपका पिचहरूमा अनुभव कम भए पनि क्वालिफायरका जितहरूले उनीहरूको आत्मविश्वास बढाएको छ ।

इटलीको मुख्य कमजोरी भनेको अनुभवको कमी हो । अहिलेसम्म केवल २५ टी-२० आई जित इटलीले हासिल गरेको छ । इटलीमा प्राकृतिक पिचहरूको अभाव (कृत्रिम मैदानमा मात्र अभ्यास) र स्रोतहरूको सीमितता जस्ता समस्या छन् ।

नेपाल इटलीविरुद्ध निश्चित जितको खोजीमा हुने छ । यदि इटलीलाई हराउन नसकेको खण्डमा त्यो नेपालका लागि सेटब्याक मानिनेछ । ग्रुप सीमा नेपालले इटलीविरुद्ध फेब्रुअरी १२ मा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित् समाचार